दमक/ आज २९ औं विश्व आदिवासी दिवस । हरेक बर्ष ९ अगष्टमा यो दिवस मनाइन्छ । दिवसको सन्दर्भ पारेर नेपालमा पनि आदिवासी जनजातीहरुले आफना अधिकारहरुको व्यवहारिक रुपमै उपयोगको वातावरण बनाउन माग गर्दै यो दिवस मनाउँदैछन ।
यस अवसरमा झापाको कमल गाउँपालिका –५ स्थित आदिवासी रंगशालामा संघीय सरकारका संस्कृती तथा पर्यटन मन्त्री सुदन किराँतीको प्रमुख उपस्थितीमा विशेष कार्यक्रमको तयारी भएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद झापाले जनाएको छ ।
झापा जिल्लाभित्रका १५ वटे पालिकाका सम्पूर्ण जातिय संस्थाहरुको बृहत सहभागितामा पहिचानका लागि भन्दै यो दिवस मनाउने तयारी भएको अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।
कार्यक्रममा मन्त्री किराँतीसँगै समाजशास्त्री डा.कृष्णबहादुर भटटचन, अधिबक्ता शंकर लिम्बू, डकेन्द्रसिंह थेगिम लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ विभिन्न जातिय संस्थाहरुले आफनो सांस्कृतिक झाँकी समेत प्रस्तुत गर्ने महासंघ झापाका पूर्व अध्यक्ष पारसमणी राईले बताए ।
‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।
सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

 

Facebook Comments Box