दमक/ दमकमा व्यवसायीहरुको छाता संगठन दमक उद्योग वाणिज्य संघको आयोजनामा व्यवसायीहरुबीच फुटसल प्रतियोगिता सञ्चालन गर्ने तयारी भएको छ ।
संघ अन्तर्गतका बस्तुगत संघमा आवद्ध व्यवसायी खेलाडीहरुबीच ६ भदौमा प्रथम दमक उद्योग वाणिज्य संघ कप फुटसल प्रतियोगिता सञ्चालनको तयारी थालिएको संघका प्रथम उपाध्यक्ष राजकुमार योङयाले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न संघका कार्यसमिति सदस्य तुलसीराम तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेर तयारी थालिएको योङयाले बताए । उनका अनुसार दमक ५ स्थित विस्ट फुटसल मैदानमा हुने प्रतियोगितामा सबै बस्तुगत संघहरुले सहभागिता जनाउनेछन ।
संघको ३३ औ वार्षिक उत्सवको अवसर पारेर अन्तर व्यवसायी संघ फुटसल प्रतियोगिता सञ्चालन गर्न लागिएको संघका अध्यक्ष गोपाल गुरागाइँले जानकारी दिए । प्रतियोगितामा करीब एक दर्जन बस्तुगत संघका टिमहरुले भाग लिन सक्ने अनुमान गरिएको छ । फुटसलमा इच्छुक व्यवसायीहरुलाई आआफनो वस्तुगत संघमा भाद्र ३ गते सम्ममा सम्पर्क गर्न र बस्तुगत संघहरुले आफनो टिम दर्ताका लागि ४ भदौ सम्ममा सम्पर्क गर्न वाणिज्य संघले व्यवसायीहरुमा सुचित गरेको छ । प्रतियोगिताको विजेता टिमले नगद १५ र उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्न सक्ने जनाइएको छ ।