दमक/ पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले सहकारी संस्थाहरुले कोरोना संक्रमणका समयमा पाएको सुविधाका कारण उद्धेश्य विपरीतका क्षेत्रमा लगानी गरेका सहकारी संस्थाहरुमा समस्या आएको औंल्याएका छन ।
सहकारी संस्थाहरु विभिन्न उद्धेश्यका हुने गरे पनि एउटै मात्रै बचत तथा ऋणको कारोबारमा केन्द्रित हुँदा सहकारी संस्थाहरु समस्यामा परेका खतिवडाको भनाई छ ।
उर्लाबारीमा मंगलबार आयोजित मेची बहुउद्धेश्यीय सहकारी संस्थाको २९ औं बार्षिकोत्सव तथा साधारण सभा समापन समारोहलाई सम्बोधन गर्दै खतिवडाले कोरोना संक्रमणपछि राज्यले सहकारी संस्थाहरुलाई दिएको सुविधाको मौका छोपेर दोब्बर कमाई हुने आशमा अन्य क्षेत्रमा उद्धेश्य विपरित लगानी गर्दा अहिलेको अवस्था आएको दाबी गरे ।
सहकारीहरुले कोरोनाको समयमा जम्मा भएको अबैध पैसा निक्षेप स्वीकारेका र बैंकहरुमा जम्मा हुने पैसा कटौती भएको र त्यसपछि बैंकहरुले निक्षेप र कर्जा दुवैमा ब्याजदर बढाएका कारण सहकारीबाट ठुलो रकम झिकेर बैंकमा लगिँदा सहकारीहरुमा तरलता अभाव देखिएको खतिवडाको भनाई थियो । बैंकहरुमा पैसाको अभाव नहुने र भइहाले राष्ट्र बैंकमा धितोपत्र राखेर पनि ऋण लिई समाधान गर्ने गरेको तर सहकारीहरुका लागि राष्ट्रिय सहकारी बैंकले उद्धेश्य र लक्ष्य अनुसार मापदण्ड भित्र रहेर काम नगर्दा समस्या समाधान गर्न नसकेको चर्चा गरे ।
उनले सहकारीहरुले विश्वास जित्न नसक्दा एकैपटक निक्षेप फिर्ता लिने निक्षेपकर्ताहरु बढेका कारण छिट्टै समस्या आउने गरेको पनि उल्लेख गरे । उनले सहकारीहरुले सेवा शुल्क लिनै नहुने बताउँदै सेवा शुल्क लिइनु नियम विपरित भएको प्रष्टयाए ।
उनले सहकारीहरुमा कम्पनीको कारोबार बैधानिक नहुने तर्क गरे । कम्पनीहरुले संस्थाको सदस्य बनेर ऋण लिनु सहकारीका लागि घातक हुने विश्लेषण सुनाए । पूर्व गभर्नर समेत रहेका खतिवडाले व्यवसायिक क्षेत्रमा असफल भएपछि अहिले सामाजिक अभियान्ता बनेर हिंडने प्रवृत्ती बढेको भनि आलोचना गरे ।
एक अर्को प्रसंगमा पूर्व मन्त्री खतिवडाले सहकारी अभियान्ताहरुले अहिलेको सरकारले सहकारीहरुमाथि लगाएको करको भार हटाउन सशक्त आवाज उठाउनु पर्ने तर्क गरे । उनले भने– सहकारी अभियान्ताहरु पहिला पहिला म अर्थमन्त्री हुँदा टेवल ठटाउँदै जानुहुन्थ्यो , कुनै कुनै बिषय एकैदिनमा पनि निर्णय गरेर परिवर्तन गरेका थियौं, अहिले सहकारीमाथि करको भार थपिँदा पनि केही गर्नुभएको छैन ।
पूर्व मन्त्री खतिवडाले शिक्षा, जलबिद्युत लगायतका क्षेत्रको बिकासमा सहकारीको मोडल उपयुक्त हुने भएपनि यसलाई अपनाउन नसकिएको उल्लेख गरे ।
संस्थाका अध्यक्ष नारायण भटट्राईको अध्यक्षतामा भएको कार्यक्रममा राष्टिय सहकारी महासंघकी चित्रकुमारी थाम्सुहागंले सहकारी क्षेत्रका केही मानिसहरुले गरेको गलत क्रियाकलापलाई निहुँ बनाएर यो क्षेत्रलाईनै बदनाम गर्ने गराउने प्रवृत्ती बढिरहेको बताइन ।

सो अवसरमा महाप्रवन्धक थाम्सुहागंलाई सो सहकारीले स्वर्गीय गणेशप्रसाद बस्नेत सहकारी अभियान्ता पुरस्कार र पत्रकार चिना थापालाई गणेशप्रसाद बस्नेत सहकारी पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो । त्यस्तै मेची सहकारी पत्रकारिता पुरस्कार राजु पोखरेललाई प्रदान गरियो भने उत्कृष्ट सेवा केन्द्रका रुपमा विर्तामोड सेवा केन्द्रलाई पुरस्कृत गरिएको थियो । त्यस्तै उत्कृष्ट सञ्चार गृह तर्फ रेडियो किङ एफएमलाई पुरस्कृत गरियो ।
त्यस्तै पाँच जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको सहकारीका कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिए । कार्यक्रममा प्रदेश सभा सदस्यद्धय बिद्या चाम्लिङ, नम्बरलाल धिमाल लगायतले उत्कृष्ट कर्मचारी, सेवा केन्द्र लगायतलाई सम्मान प्रदान गरे । कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजेन्द्र दाहालले गरेका थिए ।