दमक/ दमक ८ स्थित कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाको २३ औं बार्षिक इकाईगत साधारण सभा शुरु भएको छ ।
कोशी प्रदेश सभा सदस्य समेत रहेका संस्थाका पूर्व अध्यक्ष होमबहादुर थापाको प्रमुख आतिथ्यमा आयोजित इकाइगत साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदन प्रमुख अतिथी थापा, संस्थाका अध्यक्ष मणिकुमार भण्डारी र सल्लाहकार संयोजक गंगाप्रसाद संग्रौलाले संयुक्त रुपमा सार्वजनिक गरेका छन ।
प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख अतिथी थापाले राष्ट्रको तीन खम्बे अर्थनीति भित्र समेटिएको सहकारी क्षेत्रलाई यसको मुल्य मान्यता र सिद्धान्त अनुरुप अघि बढाउनु पर्नेमा जोड दिए ।
उनले सहकारीका सदस्यहरुलाई आफनो सम्पूर्ण वित्तीय कारोबार सहकारी संस्थाबाटै गरेर यसबाट लिन सकिने सेवामा केन्द्रित हुन आग्रह पनि गरे ।
प्रतिवेदनको सार संक्षेप प्रस्तुत गर्दै संस्थाका अध्यक्ष मणिकुमार भण्डारीले संस्थाका सदस्यहरुको सेवामा केन्द्रित हुँदै ल्याइएका कार्यक्रमहरुको उपयोग गर्न संस्थाले तोकेका मापदण्ड तथा शर्तहरुको पालना गर्नु शेयर सदस्यहरुको दायित्व भएको उल्लेख गरे । उनले संस्थाको गत आर्थिक बर्षको आम्दानी खर्चको विवरण सँगै चालू आर्थिक बर्षका लागि विभिन्न योजना तथा कार्यक्रमहरु समेत प्रस्ताव गरेका छन ।
सार्वजनिक गरिएको प्रतिवेदनमा संस्थाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक पर्ने कम्तीमा २ विगाहा जग्गा खरिदका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । प्रतिवेदनमा लामो समयदेखि भाखा नाघेका केही ऋणी शेयर सदस्यहरुलाई अविलम्ब कर्जा चुक्ता गर्न भनिएपनि अटेर गरेका कारण उनीहरुको धितो लिलाम प्रकृया अघि बढाइएको पनि जनाइएको छ ।
संस्थामा ६ करोड ६१ लख ५१ हजार ३०० रुपैयाँको शेयर पुँजी र कर्जा जोखिम कोषमा १ करोड ११ लाख रुपैयाँ रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
३ हजार १ सय बढी शेयर सदस्य रहेको सो संस्थाले आइतबार दमकस्थित कार्यालयबाट साधारण सभा शुरु गरेर २३ भाद्रमा उर्लाबारीमा समापन गर्ने तालिका समेत सार्वजनिक गरिएको छ ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले पनि शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष भरतकुमार चम्लागाइँले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी दिए ।