दमक/ उद्यम बिकास वचत तथा ऋण सहकारी संस्थाले पन्ध्रौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सहकारीकी अध्यक्ष चन्द्रा खड्का भट्टराईको अध्यक्षता र दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित साधारण सभाको उदघाटन कार्यक्रमका वक्ताहरुले सहकारी क्षेत्रलाई मर्यादित र अनुशासित रुपमा यसको सिद्धान्त अनुरुप अघि बढाउनु पर्नेमा त्यसो हुन नसकीरहेको भन्दै चिन्ता व्यक्त गरे ।
वक्ताहरुले नियम बिपरित चलेका केही सहकारीका कारण सहकारी क्षेत्र बदनाम बनेको भन्दै सदस्यहरुनै सचेत बन्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नगर प्रमुख थापाले सहकारीहरु सदस्य प्रति उत्तरदायी हुनु पर्ने औंल्याए ।
सहकारीका सदस्यहरु सचेत बन्दै साधारणसभामा सक्रियता पुर्वक सहभागिता जनाउने र समय समयमा सहकारीको कारोबारका बारेमा जानकारी लिने गर्नाले सञ्चालक समिति पनि जिम्मेवार हुने भन्दै उनले सदस्य जति धेरै सचेत बन्यो त्यति धेरै सहकारी सदस्यप्रति उत्तरदायी बन्ने बताए ।
कार्यक्रममा झापा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ सदस्य चन्द्रकला भण्डारी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, सामाजिक व्यक्तित्व सुरेश सुब्बा र सहकारी संघ दमक नगर अध्यक्ष टिकाराज सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभाको अवसर पारेर सहकारीका जेष्ठ सदस्य, एकल महिला , उत्कृष्ट कारोबार गर्ने सदस्य, बाल वचत कर्ता, उत्कृष्ट अंक ल्याएर १२ पास गर्ने सदस्य सन्तान लगायतलाई सम्मान समेत गरिएको उद्यम विकास सहकारीका सचिव विरेन्द्र पोखरेलले जानकारी दिए ।
साधारणसभाको बन्द सत्रले अध्यक्ष भट्टराईले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन र लेखा संयोजक पर्शुराम रिजालले प्रस्तुत गरेको लेखा प्रतिवेदन सुझाव सहित पारित गरेको छ ।