दमक/ दमक ५ मा शेयर सदस्य महिलाहरु मात्रै रहेको प्रशान्ति महिला बचत तथा ऋण सहकारी संस्थाले आफनो ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शनिबार कृषि सहकारी संघकी केन्द्रिय उपाध्यक्ष समेत रहेकी सहकारी अभियान्ता मिना ढकालको प्रमुख आतिथ्यमा आयोजित साधारण सभाका अवसरमा विभिन्न विधामा उत्कृष्ट शेयर सदस्यहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

संस्थाकी अध्यक्ष अम्बिका अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष अधिकारीले सहकारी तथा वित्तीय क्षेत्रहरुमा आएको समस्या यो संस्थामा नदेखिएको बताइन । उनले महिलाहरुले चलाएको सहकारी भएकै कारण यसमा वित्तीय कारोबार गर्ने सदस्यहरुले विश्वास गरेर कारोबार गर्दा कुनै किसिमको वित्तीय जोखिम नआएको उल्लेख गरिन ।

प्रतिवेदनमा महिलाहरुलाई स्वरोजगार सृजना गरी आत्मनिर्भरताको बाटोमा डोहोरयाउन र आफनै पहिचान कायम राख्न मद्धत पुरयाउने उद्धेश्यले दुई लाख रुपैयाँ सम्म कर्जा विना धितो उपलब्ध गराउने नीति लिइएको उल्लेख छ । बचत समुहलाई सहकारी संस्थाका रुपमा रुपान्तरण गरि सञ्चालन भएको यो संस्थामा हाल ३४ लाख ५५ हजार रुपैयाँ शेयर पुँजी रहेको छ भने शेयर सदस्यहरुको संख्या ३३० रहेको उल्लेख छ ।

सो अवसरमा संस्थाकी संस्थापक अध्यक्ष एवं सल्लाहकार संयोजक राधिका ओझाले महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर नभएसम्म समाज रुपान्तरण हुन नसक्ने भएकाले महिलाहरुको ससानो पुँजी परिचालन गरेर स्वरोजगारको बाटोमा डोहोरयाउन यो संस्थाको स्थापना गरिएको उल्लेख गरिन ।

सभामा जिल्ला सहकारी संघका लेखा समिति संयोजक चुडामणी ओझाले आर्थिक सवलीकरण बिना महिलाहरुमा आत्मसम्मानको अनुभुती समेत नहुने भएकाले सबैभन्दा पहिले आर्थिक गतिबिधिमा अगाडी बढन सुझाव दिए ।

सभाको सञ्चालन संस्थाकी सचिव सुभद्रा ढकालले गरेकी थिइन ।

 

Facebook Comments Box