दमक/ दमकस्थित मेची बहुउद्धेश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको मृत्युप्रकरणमा सोही सहकारीमा कार्यरत एक जना महिला कर्मचारी विरुद्ध किटानी जाहेरी परेको छ ।
बिहीबार अपरान्ह दमक ५ स्थित अन्नपूर्ण होटलको तेस्रो तलाको एक कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका राउतले छोडेको सुसाइट नोटका आधारमा परिवारले शुक्रबार बिहान किटानी जाहेरी दिएका हुन । मुलुकी अपराध संहिताको दफा १८५ अर्थात आत्महत्यालाई दुरुत्साहन गरेको अभियोगमा सोही सहकारीमा कार्यरत ति महिला कर्मचारी विरुद्ध मुद्दा चलाउने प्रहरीको तयारी छ । सो मुद्धामा झापा जिल्ला अदालतबाट आजै म्याद थपको आदेश लिएर ति कर्मचारीमाथी थप अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।
इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामाले सो घटनामा मृतक परिवारका तर्फबाट परेको किटानी जाहेरी परेको जनाउँदै आत्महत्या दुरुत्साहनको अभियोगमा ति महिलामाथी थप अनुसन्धान अघि बढाइने जानकारी दिए । आत्महत्या दुरुत्साहन अभियोग प्रमाणित भए अदालतले पाँच बर्ष सम्मको सँजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।
३७ बर्षिय राउत बिहिबार बिहान करिब ९ बजेदेखि एकाएक घर परिवार र कार्यालयको सम्पर्क बाहिर थिए ।
प्रहरीले राउतले प्रयोग गर्दै आएको मोवाइल फोनबाट लोकेशन ट्रयाक गर्दै दमक ५ स्थित मंगलदिप मार्केट र इलाका ट्राफिक प्रहरी कार्यालय दमकको मध्यभागमा रहेको अन्नपूर्ण होटल एण्ड लजको तेस्रो तलामा पुगेको थियो ।
त्यहाँ उनी बन्द कोठा भित्र फेन झुण्डयाउने फलामको हुकमा डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए ।

 

 

Facebook Comments Box