दमक /  विर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आजदेखि १३ औं बार्षिक साधारण सभा इकाइगत रुपमा शुरु गरेको छ ।

दमकसहित पूर्वका विभिन्न क्षेत्रमा सेवा केन्द्र खोलेर कारोबार गर्दै आएको संस्थाले आज जिल्लाका दमकसहित विर्तामोड र सुरुङ्गामा इकाइगत साधारणसभा सम्पन्न गरेको सहकारीले जनाएको छ । यसैक्रममा दमकस्थित पशुहाट , क्याम्पसमोड, पुरानो आम्दा र पाडाजुँगी उपइकाई अन्तर्गतका सदस्यहरुको उपस्थितिमा दमक इकाईको साधारण सभाको उदघाटन कार्यक्रममा संस्थाको सञ्चालक समिति र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

दमक उद्योग वाणिज्य संघको सभाहलमा भएको सभा दमक ९ का वडाध्यक्ष कुवेर भटटराईको प्रमुख आतिथ्यता र दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँको विशेष आतिथ्यमा भएको सो साधारण सभामा संस्थामा उत्कृष्ट कारोबार गर्ने जगमाया शिवाकोटी, गणेश बहादुर भुजेल र पर्साबहादुर राईलाई सम्मान गरिएको छ ।

त्यस्तै संस्थाको नियमानुसार संस्थाका सदस्य र सदस्य परिवारका लागि औषधी उपचारमा राहत सहयोग रकम समेत प्रदान गरिएको सहकारीका सञ्चालक सदस्य नविन योगीले जानकारी दिए ।

जसअनुसार मिर्गौला प्रत्यारोपण गरेका तुलसीविक्रम बस्नेतलाई नगद ९० हजार, फणिन्द्र गडतौलालाई १२ हजार ४६, रमला गिरीलाई ५ हजार ६१५, प्रनिता गुरुङ्गलाई १४ हजार ४००, जितेन्द्र थापालाई ५ हजार ६२ र कमला कार्कीलाई ४ हजार ५० रुपैयाँ प्रदान गरिएको हो ।

सो सहकारीले झापा, मोरङ्ग र इलामका ४९ र पाँचथरको फिदिम सेवा केन्द्र समेत कूल ५० सेवा केन्द्रहरु मार्फत करिब ५८ हजार  शेयर सदस्यहरु माझ कारोबार गर्दै आएको छ । संस्थाले लघुवित्त कार्यक्रम पनि सञ्चालन गरिआएको छ ।

Facebook Comments Box