दमक/ दमक ६ स्थित कलश वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १२ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ ।
संस्थाले साधारण सभाको अवसर पारेर सदा बर्षझैं यो बर्ष पनि उत्कृष्ट कारोबार गर्ने सदस्य तथा विभिन्न क्षेत्रका अगुवाहरुलाई सम्मान गरेको छ ।
जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष प्रेम कोईरालाको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा मारवाडी सेवा समितिको सभाकक्षमा आयोजित साधारण सभाको उदघाटन कार्यक्रमका वक्ताहरुले सहकारी क्षेत्र साना पुँजी भएका व्यवसायी तथा उद्यमीहरुका लागि अपरिहार्य भएको बताउँदै सहकारी संस्थाहरु जोगाउनु सबैको साझा दायित्व भएको उल्लेख गरे ।
साधारणसभामा अध्यक्ष महेश घिमिरेले अध्यक्षको प्रतिवेदन पेश गर्दै कलश सहकारीले यस अघि देखी सञ्चालन गर्दै आएको प्राकृतिक विपत्ती राहत कार्यक्रम, सदस्य मृत्यु राहत कार्यक्रम, सदस्यलाई जटिल रोग लागेमा दिईने सहयोग कार्यक्रम, सुत्केरी भत्ता वापतको कार्यक्रम, शैक्षिक प्रोत्साहन लगायतका कार्यक्रमहरुलाई यस बर्ष पनि निरन्तरता दिईएको उल्लेख गरे ।

अध्यक्ष घिमिरेले बिषम परिस्थितीमा पनि सदस्यहरुले संस्थालाई विश्वास गरेर सो संस्थामा कारोबार केन्द्रित गरेकोमा प्रशंसा व्यक्त गरे ।
सहकारीको उपाध्यक्ष युवराज खनाल सागरले स्वागत गर्दै संस्थाले सहकार्य, समानता र न्यायको सिद्धान्तलाई पछयाइरहेको स्पष्ट पारे ।
साधारणसभामा प्रमुख आतिथि कोईराला सहित जिल्ला सहकारी संघका लेखा संयोजक चुडामणी ओझा, दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय बराल, दमक एभरेष्ट सहकारी संस्थाका सचिव ज्ञाननाथ पौडेल ज्ञानु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभाको बन्द सत्रले अध्यक्ष घिमिरेले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र लेखा संयोजक कमल बरालले प्रस्तुत गरेको लेखा प्रतिबेदन सुझाव सहित पारित गरेको व्यवस्थापक शेखर भट्टराईले जानकारी दिए ।
साधारणसभामा संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक रघुबीर बुढाथोकीले गरेका थिए ।
