दमक/ दमक ६ स्थित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाइँको प्रमुख आतिथ्यमा भएको साधारण सभामा सञ्चालक समितिका तर्फबाट संस्थाका अध्यक्ष गुरुभक्त ढुंगानाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मुलुकको बिषम परिस्थितीका बाबजुद संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको उल्लेख गरे ।


अध्यक्ष ढुंगानाले संस्थाले बर्षेनी गर्दै आएका सामाजिक क्षेत्रका कामहरुसँग सदस्यमुखी कार्यक्रमहरुलाई आगामी बर्ष पनि निरन्तरता दिइने प्रतिबद्धता जनाए ।
प्रतिवेदनमा संस्थाको शेयर पुँजी अघिल्लो आर्थिक बर्षमा एक करोड १९ लाख रहेकोमा गत आर्थिक बर्ष २०७९÷०८० मा १ करोड १५ लाख २० हजार रुपैयाँ कायम भएको जनाइएको छ । उनले निष्कृय सदस्यहरुले संस्थाबाट प्रदान गरिने सेवा सुविधाहरु उपभोग गर्न नपाउने उल्लेख गर्दै संस्थाका सदस्यहरुलाई आफनो कारोबार सहकारीमै केन्द्रित गर्न पनि आग्रह गरे ।
सो अवसरमा संस्थामा उत्कृष्ट र नियमित बचत तथा कारोबार गर्ने सदस्यहरु पुनम गौरो, अम्बिका प्रसाइँ, प्रिषा बोहोरा, अम्बिकादेवी पौडेल, डम्बरबहादुर तामाङ, विर्खमान गुरुङ, नविन शर्मा, पम्फा माया राई, मोतीमाया राई, सोममाया तामाङ, उत्तरकुमार राई, मनबहादुर भुजेल लगायत २० जनालाई पुरस्कृत गरिएको छ । त्यस्तै करीब दुई दर्जन ज्येष्ठ नागरिकहरुलाई सम्मान र ५० जना बाल बचतकर्ताहरुलाई पुरस्कृत गरिएको व्यवस्थापक लोचन ढुंगानाले जानकारी दिए ।
संस्थाका अध्यक्ष ढुंगानाको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथी सहकारी शाखा प्रमुख चम्लागाइँ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, संस्थाका सल्लाहकार डा. घनश्याम सुवेदी लगायतले सो सम्मान तथा पुरस्कार हस्तान्तरण गरे ।

Facebook Comments Box