दमक/ विर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा आज शनिबार सम्पन्न भएको छ । यसअघि इकाइगत साधारण सभा गरेको संस्थाले मूल माइन्युट प्रमाणित गर्दै औपचारिक रुपमा सभा सम्पन्न गरेको हो । असोज ७ गतेदेखि १३ गतेसम्म इकाइगत साधारणसभा भएको थियो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा बिर्तामोडमा अन्तिम माइन्युट प्रमाणिकरण साधारणसभाका अवसरमा पत्रकार लक्ष्मी उप्रेती र युवराज विवशलाई पुरस्कृत पनि गरिएको छ । उनीहरुलाई जनही १० हजार रुपैयाँसहित उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
संस्थामा लामो समय काम गरेर स्वेच्छिक अवकास लिएकी अधिकृत कर्मचारी दुर्गा पौडेललाई दुई लाख २५ हजार रुपैयाँसहित कदर पत्र प्रदान गरेर विदाई गरिएको छ ।
यसैगरी सेयर सदस्य मित्रप्रसाद घिमिरेलाई नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरिएको सोही कार्यक्रममा संस्थाका तीनजना शाखा प्रमुखहरुलाई जनही २० हजार रुपैयाँ पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको संस्थाका सञ्चालक सदस्य नविन योगीले जानकारी दिए ।
सेवाकेन्द्रहरु मध्ये मेचीनगरको धुलाबारीमा रहेको सेवा केन्द्रका प्रमुख अञ्जु प्रधान, इलाम जिल्लाका १२ वटा सेवा केन्द्रहरुमध्ये नेपालटार सेवा केन्द्र प्रमुख तीर्थराज सुवेदी र मोरङ जिल्लाका १० वटा सेवा केन्द्रहरु मध्ये लेटाङ सेवाकेन्द्रका प्रमुख मोहन घिमिरेलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको हो ।
सो माइन्युट प्रमाणित साधारणसभा समारोहमा झापा जिल्ला सहकारी संघका सञ्चालक केशव बस्नेत र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख प्रसाईं, संस्थाका अध्यक्ष भट्टराईले प्रमाणपत्र र नगदसहित सम्मान गरेका हुन ।
संस्थाले सेयर सदस्य वृद्धिमा लक्ष्यको ६५ प्रतिशत हासिल गरेको भए पनि सेयर पुँजी ७ लाख ४० हजार २०० रुपैयाँ घटेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको कर्जा लगानीमा ५३ दशमलव ३९ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।
सिम्रिक साकोसले पनि बाह्य कर्जालाई क्रमशः घटाउँदै लगेको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा ९८ करोड ४० लाख २१ हजार रहेको बाह्यकर्जा ६ दशमलव ४१ प्रतिशतले घटाएको छ भने चालू वर्षको असार मसान्तमा ७६ करोड ४२ लाख ७२ हजारमा झार्ने लक्ष्य लिइएको अध्यक्ष भट्टराईले जनाए ।