दमक/झापाको दमक ६ स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष लिला ढुंगेल दाहालको अध्यक्षता र जिल्ला सहकारी संघका सञ्चालक सदस्य प्रेम कोइरालाको प्रमुख आतिथ्यमा भएको साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत संस्थाको बार्षिक प्रतिवेदन र लेखा समिति संयोजक भेषराज भट्टराईद्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदन सर्वसम्मतले पारित गरेको संस्थाका सचिव छवि घिमिरेले जानकारी दिए । प्रतिवेदनमा संस्थाका सदस्य ३०५ जना रहेका र चालू आर्थिक बर्षमा ३ सय ५० पुरयाउने लक्ष्य रहेको उल्लेख छ ।
संस्थाको कारोबारलाई बृद्धि गर्न विभिन्न किसिमका बचत खाता सञ्चालनमा ल्याइएको पनि प्रतिवेदनमा जनाइएको छ ।
त्यसैगरी शेयर पुँजी अघिल्लो बर्ष ४९ लाख रहेकोमा गत आर्थिक बर्षमा ५१ लाख २१ हजार रुपैयाँ पुगेको पनि जनाइएको छ । सभाको अवसरमा ऐचिछक बचत तर्फ १३ जना , बाल बचत तर्फ २ जना आवधिक बचत तर्फ २ जना र ऋण कारोबारी तर्फ ३ जनालाई उत्कृष्ट कारोबार गरेको भन्दै पुरस्कृत गरिएको पनि संस्थाकी अध्यक्ष ढुंगेलले जानकारी दिइन् ।
सभाको उद्घाटन सत्रमा प्रमुख अतिथी कोइराला, सूर्यमुखी साकोसका अध्यक्ष चुडामणी ओझा, मेची सहकारीका सचिव लक्ष्मी दाहाल, राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रवन्धक विवेक डाँगी, उद्धार साकोसका सचिव गिरिराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य कमला बजगाइँले राखेकी थिइन् ।