दमक/ झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबा काठमाडौंबाट यसपटकको दशैं सन्मुखमा आफनो निर्वाचन क्षेत्रमा आउँदा नागरिकहरुका लागि फरक कोशेली लिएर आएका छन ।
आफ्ना नागरिकका लागि तनाव व्यावस्थापन र विश्व शान्तिको कामना गर्दै ४ दिवसीय भावातीत ध्यान शिविरको योजना लिएर सांसद साँवा आफनो क्षेत्रमा आएका हुन ।
पहिलो चरणका लागि सुरुङ्गास्थित लोटस पार्टी प्यालेस सुरुङ्गामा शनिबार देखि आयोजना गरिएको सो ध्यान शिविरमा मावि विद्यालयका प्रधानाध्यापक तथा पत्रकारहरुसँगै झापाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता छ ।
शिविरको उदघाटन गर्दै सांसद साँबाले आफ्ना नागरिकको मानसिक र शारीरिक स्वास्थ्यका लागि ध्यान शिविरको आयोजना गरेको बताए । मानिसलाई अहिले मनमा अशान्ति बेचैनी र अशान्ति रहेको भन्दै ध्यान शिविरबाट नागरिकले मनको शान्ति र खुसी पाउने सांसद साँवाको विश्वास छ ।
शिविरमा एक सय जनाको सहभागिता रहेको छ । ध्यान शिविरबाट आफ्ना क्षेत्रका नागरिकहरुलाई फाइदा मिल्ने भन्दै यस कार्यक्रमलाई निरन्तरता दिदै जाने सांसद साँबाले उल्लेख गरे ।
झापामा आत्महत्या जस्ता अपराधका घटनाहरु बढिरहेको भन्दै यसलाई नियन्त्रणका लागि एकमात्रै उपाय चिन्ता नियन्त्रण भएकोले यस्ता कार्यक्रमले सहयोग पुग्ने साँबाको भनाई थियो ।
संकल्प प्रतिष्ठानको आयोजना तथा नेपाल महर्षि फाउण्डेशन काठमाडौको सहआयोजनामा आयोजित ध्यान शिविरमा फाउण्डेशनका संस्थापक अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री दिपकप्रकाश बास्कोटाले विश्व शान्ति अभियानमा ध्यानले मद्धत पुर्याउने भन्दै ध्यानकै माध्यमबाट विश्वशान्तिको यात्रामा पुग्नका लागि फाउण्डेशनले देशव्यापी अभियान संञ्चालन गरिरहेको बताए ।
कार्यक्रममासंकल्प प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र प्रसाईले देशलाई तनाव व्यावस्थापन गर्दै विश्वशान्तिको महाअभियानमा जुटने संकल्प संकल्प प्रतिष्ठानले गरेको बताए । ४ दिनसम्म चल्ने भावातीत ध्यान शिविरमा नागरिकलाई भावातित हुने तरिकाका वारेमा र नकरात्मकताबाट छुुटकाराका लागि ध्यानविधिबाट प्रयोगात्मक रुपमा प्रशिक्षण गराइने छ । ध्यान शिविरमा भावातीत ध्यान प्रशिक्षक माधव अर्याल, चेतना भुषाल र मदन मोहन अधिकारीले ४ दिनसम्म प्रशिक्षण प्रदान गर्ने जनाइएको छ ।