दमक/झापाको दमक र कमलका दुई सहकारी संस्थाहरुले आज आआफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेका छन् ।
दमक ७ स्थित मिक्लाचुङ जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी संस्था र कमल ५ स्थित बस्ती विकास बचत तथा ऋण सहकारी संस्थाले छुट्टा छुट्टै साधारण सभा सम्पन्न गरेका हुन् ।
दमकको किराँत भवनमा मिक्लाचुङले आयोजना गरेको सातौं बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष युवराज लिम्बुको अध्यक्षता र दमक ७ का वडाध्यक्ष भिम प्रसाद पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।
त्यसैगरी सभामा स्थानीय इष्टर्न स्टार बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल एलडी सोताङ राई लगायतको विशेष आतिथ्य रहेको थियो । सभामा संस्थाका अध्यक्ष लिम्बुले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो सहकारी झापाको माइपश्चीममा अवस्थित एक मात्रै जडिबुटी उत्पादन तथा प्रशोधन सहकारी हो ।
संस्थामा ५० लाख स्थिर शेयर पुँजी र १ करोड ३३ लाख रुपैयाँ बचत कारोबार रहेको प्रतिवेदनमा जनाइएको छ । सो अवसरमा आवधिक, ऐच्छिक, नियमित मासिक, बाल बचत लगायतका बचत कारोबारमा उत्कृष्ट सदस्यहरु र एसइइमा उत्कृष्ट ग्रेड ल्याउने सामुदायिक तर्फ प्रेरणा राई र मिसन श्रेष्ठ तथा निजी तर्फ रामादेवी भट्टराई र मिक्पीस ओख्राबुलाई पुरस्कार प्रदान गरिएको थियो । भने ज्येष्ठ सदस्य सम्मानबाट समर बहादुर थामीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी कमल ५ स्थित बस्ती विकास बचत तथा ऋण सहकारी संस्थाले चौथो बार्षिक साधारण सभा कमल गाउँपालिकाका उपाध्यक्ष वेनु प्रसाद शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष तिर्थकुमार ताजपुरीयाको अध्यक्षतामा भएको साधारण सभामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा बजार प्रतिनिधि बर्षा पोखरेललाई पुरस्कृत गरियो भने ज्येष्ठ नागरिक बचत तर्फ शान्ता बस्नेत, लय प्रसाद रिजाल र सिमेन्यादेवी ताजपुरीयालाई सम्मान गरिएको थियो ।
संस्थाको बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ताजपुरीयाले हाल ३६ लाख २१ हजार रुपैयाा शेयर पँुजी रहेकोमा आगामी बर्ष ४५ लाख रुपैयाँ पुरयाउने लक्ष्य रहेको जनाउनु भयो ।
साधारण सभाको उद्घाटन कार्यक्रममा कमल ५ का वडाध्यक्ष डम्बर निरौला, सुम्निमा कृषि सहकारी संस्थाका अध्यक्ष प्रमोद दाहाल, स्वतन्त्र साकोस दमकका अध्यक्ष इन्द्र राई,चन्द्रदर्शन साकोसका सचिव भोजकुमार राई, हाम्रो सुरक्षा साकोसका अध्यक्ष गोविन्द तिवारी, लगनशील कृषि सहकारीका सञ्चालक एलबी विष्ट लगायतको विशेष आतिथ्य रहेको थियो ।