दमक/  विर्तामोडमा मुख्य कार्यालय स्थापना गरी झापा, इलाम र मोरगंका विभिन्न पालिकामा वित्तीय कारोबार गर्दै आएको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दमकमा विहिबार इकाईगत साधारणसभा सम्पन्न गरेको छ ।
दमक, कमल सहितका सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरुको उपस्थितिमा संस्थाले दमकमा २३ औं इकाइगत साधारणसभा सम्पन्न गरेको हो ।
स्थानीय मारवाडी सेवा सदनमा आयोजित साधारण सभाको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले उदघाटन गरेकी थिइन । सो अवसरमा उपप्रमुख भट्टराईले सो सहकारी संस्थाले वित्तीय कारोबारसँगै विपन्न तथा आफना शेयर सदस्यहरु लक्षित सामाजिक सेवामा समेत दिएको योगदानको प्रशंसा गरिन ।
सो अवसरमा संस्थामा कारोवार गर्ने एक दर्जन बढी उत्कृष्ठ सदस्यहरुलाई पुरस्कृत गर्नुका साथै सञ्चालक समितिबाट प्रस्तुत बार्षिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिबाट प्रस्तुत गरिएको लेखा प्रतिवेदन समेत सुझावसहित पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा भएको सभामा कोषाध्यक्ष एकराज विष्टले स्वागत मन्तव्य राखेका थिए । अध्यक्ष प्रधानले संस्थाद्धारा तयार पारिएको गतिविधिमूलक बार्षिक प्रतिवेदन प्रस्तुत गरे ।

झापामा ३२ वटा ,इलाममा २ र मोरङमा ७ वटा स्थानमा सेवा केन्द्र सञ्चालनमा छन् । संस्थाले तीन जिल्लाका ४६ वटा सेवा केन्द्रको स्वीकृति पाएपनि हाल ४१ वटा सेवा केन्द्र सञ्चालनमा रहेको सहकारीका सचिव भूपाल बस्नेतले जानकारी दिए । देशभर आएको आर्थिक मन्दीको प्रभावका कारण थप ५ वटा सेवा केन्द्र तत्काल सञ्चालनमा नल्याइएको सचिव बस्नेतले जानकारी दिए ।
संस्थामा ५० हजार ७ सय १६ जना सदस्य आवद्ध छन् । संस्थाको शेयर पूंजी ४८ करोड ८० लाख २१ हजार ७ सय पुगेको छ ।
७ वटा इकाई निर्धारण गरि संस्थाले आगामी पुष ४ गते सम्पन्न गरिने जनाईएको छ । संस्थाको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको चुनावी साधारणसभा भएका र त्यस अनुसार यहि मंसिर १७ देखि २१ गतेसम्म निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिएको उल्लेख छ ।

Facebook Comments Box