दमक/ राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सरकारले सहमति गरेको कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायधिकरण गठन गर्नुपर्ने प्रमुख मागको अझै सम्बोधन नहुँदा सहकारी अभियानमाथी चुनौती थपिँदै गएको बताएकी छन ।
झापाको दमकमा आज आयोजित सूयर्दशन बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मल्लले सहकारी संस्थाहरुका लागि कर्जा सूचना केन्द्र स्थापना नहुँदा सहकारी मार्फत भएको वित्तीय कारोबार जोखिममा परेको र यसको फाइदा सिमित पुँजीपतिले चलाएका नाफामुखी बैंकहरुले उठाइरहेको उल्लेख गरिन ।


उनले भनिन– सहकारी क्षेत्रमा देखिएका समस्या हल गर्न सरकार गम्भिर नहुँदा समस्या बढेर गएको छ । सहकारी संस्थाहरुका लागि कर्जा सूचना केन्द्र स्थापना भए वित्तीय जोखिम कम गर्न सघाउ पुग्ने सहकारीकर्मीहरुको निचोड भएको वरिष्ठ उपाध्यक्ष मल्लको भनाई छ ।
सहकारी संस्थाहरुले गरेको लगानी असुली सम्बन्धि बिद्यमान कानुनी जटिलतालाई हटाउन छुट्टै सहकारी कर्जा असुली न्यायधिकरणको व्यवस्था गरिनुपर्छ –मल्लले भनिन । उनले सरकारले सहकारी अभियानको आन्दोलनका क्रममा भए गरेका सहमती, सम्झौताहरुको कार्यान्वयन नगरेर सरकारले देशको ठुलो हिस्सा ओगटने सहकारी अभियानकै अपमान गरिरहेको आरोप पनि लगाइन ।
सहकारी प्रवद्र्धन कोष र बचत सुरक्षण कोषको व्यवस्था हुनुपर्नेमा त्यसो हुन नसक्दा सहकारी क्षेत्रले जोखिम ब्यहोर्नु परिरहेको बताउँदै वरिष्ठ उपाध्यक्ष मल्लले सहकारी संस्थाका सञ्चालकहरुले आफूखुशी ऋण लिएका कारण सहकारीमा संकट आएको भए त्यस्ता सहकारीका सञ्चालकहरुलाई कानुनी कठघरामा उभ्याइनुपर्नेमा मल्लले जोड दिइन ।
आर्थिक मन्दीको प्रभावका कारण समस्यामा परेका सहकारीहरुले श्वेतपत्र जारी गरेर दुई बर्ष भित्र बचतकर्ताहरुको निक्षेप क्रमश फिर्ता गर्न सक्ने उल्लेख गर्दै श्वेतपत्र जारी गर्नुपर्ने अवस्थाको यकिन गर्न भने संस्थाको कारोबार सुक्ष्म रुपमा नियालिने वरिष्ठ उपाध्यक्ष मल्लको भनाई छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा भएको साधारण सभाको उदघाटन कार्यक्रममा संस्थाका उत्कृष्ट र नियमित बाल बचत कर्ताहरु सक्षम भुजेलसहित ४० जना बालबालिकालाई पुरस्कृत गरिएको थियो । सभामा सहकारी अभियान्ताहरु चन्द्रकुमारी खडका भट्टराई, प्रेम कोइराला, चुडामणी ओझा, खोमप्रसाद बगाले, दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाइँ लगायतको आतिथ्य रहेको थियो । सभाको सञ्चालन राजकुमार खडकाले गरेका थिए ।

 

Facebook Comments Box