दमक/ झापाको दमक ६ मा सञ्चालित नवरङग वचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौं रुपैयाँ रकम फिर्ता नगरी बन्द भएको छ ।


सो संस्थाले बचतकर्ताहरुलाई फिर्ता दिनु पर्ने रकम फिर्ता नगरी एकाएक यसपालीको दशैं अघिदेखिनै कार्यालय बन्द गरेको हो ।
संस्थाको कार्यालय बन्द छ, यहाँ आउने बचत कर्ता आएर माथिल्लो तला सम्म पुग्दै फर्किएर आउने गर्छन , अफिसको फोन उठदैन सर्वसाधारण बचतकर्ताहरुले संस्थाका कर्मचारी र सञ्चालकहरुसँग सम्पर्क गर्ने अरु कुनै माध्यम पनि छैन– थाना रोडमा रहेको सो संस्थाको कार्यालय छेवैका एक जना व्यवसायीले भने ।
सो संस्थामा आफनो बचत रकम फिर्ताको लागि कार्यालय समयमा पटक पटक गएपनि कार्यालय बन्द रहेको देखेपछि आफू आश्चर्यमा परेको बचतकर्ता चेसुङ लिम्बुले बताइन ।
सो संस्थाले बचतकर्ताहरुको रकम फिर्ता नदिई उल्टै बचतकर्ताहरुमाथी सहकारीका सञ्चालक समिति र जिम्मेवार कर्मचारीहरुले गैह्रजिम्मेवारपूर्ण जवाफ दिने गरेका बचतकर्ताहरुको भनाई छ ।
कोशी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय सुनसरीका रजिष्टार हरिबहादुर खत्रीले सो सहकारी संस्था बन्द रहेको भन्ने सूचना पाएर आफूहरु पटक पटक कार्यालय खोल्ने प्रयासमा लागेको तर संस्थाका सञ्चालकहरु नै पत्ता नलागेको बताए ।
रजिष्टार खत्रीले निष्कर्ष न्यूजसँगको टेलिफोन कुराकानीमा भने– पहिलाका सञ्चालकहरुले अर्कैलाई जिम्मा दिएको भनेका छन तर आधिकारिक रुपमा हाम्रो कार्यालयमा त्यो सहकारी दर्ता हुँदाका बखतको बाहेक कुनै कागजात र तथ्याङकहरु पठाएका छैनन , यो सँग सम्बन्धित मानिसहरु फरार छन ।
घरधनी र संस्थाका संस्थापक सञ्चालक, कर्मचारीहरुसँग सम्पर्क गरेर त्यसको तथ्याङक जुटाउने काम भइरहेको छ – रजिष्टार खत्रीले भने । उनले सो सहकारीबाट पीडितहरुले सोझै प्रहरी कार्यालय वा सहकारी रजिष्टारको कार्यालयमा आएर प्रमाणसहित उजुरी दर्ता गराउन सक्ने बताए ।
हामी उजुरीका आधारमा मुद्धा दर्ताका लागि सिफारिस गर्छौ – खत्रीले निष्कर्ष न्यूजसँगको संक्षिप्त कुराकानीमा भने ।
उनले कार्यालय बन्द रहेका कारण सो संस्थामा के कति बचतकर्ताको रकम थियो ? भन्ने यकिन हुन नसकेकाले चाँडै कार्यालय खोलेर आवश्यक प्रकृया अघि बढाइने बताए ।
दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाइँका अनुसार सो सहकारीले अन्य पालिकामा समेत कारोबार गर्ने अनुमति लिएको कारण यसको दमक नगरपालिकाको नियमन क्षेत्र भन्दा बाहिर रहेको छ ।
बेला बेला अनौपचारिक रुपमा नवरंगको बिषयमा कुरा आएको हो तर हाम्रो क्षेत्राधिकार भन्दा बाहिरको बिषय हो– चम्लागाइँले निष्कर्ष न्यूजसँगको कुराकानीमा भने । सो सहकारीमा सर्वसाधारणको के कति बचत रकम थियो ? भन्ने सम्म थाह हुन सकेको छैन ।
यो सहकारी संस्था आर्थिक बर्ष २०६९÷०७० मा डिभिजन सहकारी कार्यालय चन्द्रगढी झापामा दर्ता भएको रेकर्ड छ । यसले इलाका प्रहरी कार्यालय दमकको सय मिटर दुरीमा रहेको एउटा निजी घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको थियो ।
यसअघि दमकको नारायणी बचत तथा ऋण सहकारी संस्था, स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्था र त्यसअघि दमकमै गरीबि नामक सहकारी संस्थाका नाममा बचतकर्ताहरुको करोडौं रुपैयाँ रकम हिनामिना भएको तथ्यहरु बाहिर आइसकेका छन । यि मध्ये स्वर्गपुरी सहकारी संस्था र हाल बन्द रहेको नवरंग बचत तथा ऋण सहकारी संस्थाका नाममा वित्तीय ठगी धन्दा गर्ने गिरोह एकापसमा सम्बन्धित रहेको कतिपय जानकारहरुले बताउँदै आएका छन । त्यसैगरी दमक ६ स्थित सब्जी बजार कृषि सहकारी संस्था पनि अघोषित रुपमा केही महिनादेखि बन्द अवस्थामा रहेको छ ।

 

Facebook Comments Box