किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा यहि पुस १० गते वृहत रुपमा चासोक तङनाम (न्वागी पूजा ) मनाउने भएको छ ।   चुम्लुङ दमक र कमल शाखाले आज दमकमा पत्रकार सम्मेलन गरि चासोक तङनाम (न्वागी पूजा ) को तयारीका बारेमा जानकारी दिएको हो ।
चासोक कार्यक्रम कमल ५ सावित्रा चौकस्थित आदिवासी रंगशालामा हुनेछ ।

चुम्लुङ दमक नगर शाखा अध्यक्ष देवेन्द्र चेम्जोङले विगत बर्षझै यसवर्ष पनि लिम्बू समुदायले महान चाडका रुपमा मनाउदै आएको चासोक तङनामलाई निरन्तरता दिन यसवर्ष वृहत कार्यक्रम गरिएको बताए । उनका अनुसार चुम्लुङकी केन्द्रीय उपाध्यक्ष निरन्ती तुम्बापोको प्रमुख आतिथ्यता रहने चासोक तङनाममा विधिपूर्वक पूजाआजा गर्नुका साथैं स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत सांगीतिक प्रस्तुति रहने छ ।
कार्यक्रममा लिम्बू समुदायबाट उदीयमान कलाकारका रुपमा चिनिएका रुक्सना लिम्बू, दिपा सुहाङ,कञ्चन थलङ,दिलीप माखिम,राजन पन्धाक ,सुनिता मिभक, निमा तामाङ, हिमाल लिम्बूसहित स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने छ ।
त्यस्तै, भाषा,संस्कृतिविद श्रीजंघासिंह थेवेको ३१९ औं जन्मजयन्ती मनाउनुका साथै लिम्बू समुदायको सांस्कृतिक नृत्य केलाङ,धान नाच समेत प्रस्तुत गरिने उनले बताएका छन् ।कार्यक्रममा चुम्लुङका झापा जिल्ला अध्यक्ष शेसेहाङ फियाकले जिल्लाभरि विभिन्न कार्यक्रम गरि चासोक तङनाम भव्य रुपले मनाउने तयारी भईरहेको जानकारी दिए । जिल्लाका १५ वटै पालिकामा स्थानीय तथा नगर,गाउँ शाखाले सामूहिक रुपमा चासोक तङनाम मनाउने कार्य भईरहेको उनले बताए । जसअन्तर्गत बुद्धशान्तिमा पाँच दिने चासोक मेला लागेको छ भने शिवसताक्षीका विभिन्न चार स्थानमा एकैसाथ भव्य रुपले चासोक कार्यक्रमको तयारी तीव्र पारिएका छन् । चासोक तङनाममा प्रदेश सरकारले सार्वजनिक रुपमा विदाँ समेत दिदैआएको छ ।

Facebook Comments Box