लखनपुर/झापाको कमल ५ पाडाजुँगीस्थित चन्द्रदर्शन साकोसको ९ औं बार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । संस्थाले स्थानीय रोडस्टार पार्टी प्यालेसमा आयोजना गरेको सभामा चन्द्रदर्शन सहकारी जागरण पुरस्कारबाट पत्रकार सुसुन राईलाई पुरस्कृत गरियो ।
त्यसैगरी उत्कृष्ट बाल बचतकर्ताहरुलाई स्कूल ब्याग प्रदान गरिएको थियो भने अन्य विभिन्न किसिमका बचतकर्ताहरु समेत गरि करीब ४० जनालाई पुरस्कृत गरिएको संस्थाका व्यवस्थापक राजु थापाले जानकारी दिए ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले बचत तथा ऋणको क्षेत्रमा चन्द्रदर्शन साकोसले कमल गाउँपालिकामै उत्कृष्टता हासिल गर्दै गएको चर्चा गरे ।
उनले सहकारीहरुको लगानी उत्पादनमुलक क्षेत्रमा बढाउनुपर्ने आवश्यकता खड्किएको बताउँदै चन्द्रदर्शनको अगुवाईमा त्यस्तो कामको समेत शुरुवात हुनेमा विश्वस्त रहेको बताए ।
संस्थाका अध्यक्ष बालकृष्ण गौतमले सञ्चालक समितिका तर्फबाट प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले यस अघि रहेको ऋण कारोबारको अंक सीमालाई बढाउने प्रस्ताव गरे । उनले सामाजिक काममा समेत चन्द्रदर्शनले हातेमालो गरेर अघि बढ्ने नीति लिएको र सदस्यहरुको सेवामुखी कार्यक्रमहरु अघि सारिएको बताए । त्यसैगरी संस्थाका भवन निर्माण उपसमिति संयोजक एवम् संस्थाका संस्थापक अध्यक्ष शेर बहादुर श्रेष्ठले भवन निर्माणमा भएको हिसाव सार्वजनिक गर्दै निर्माणलाई पूर्णता दिने प्रतिबद्धता जनाए ।

सभामा संस्थाका लेखा समिति संयोजक एकराज प्याकुरेल र रोशन दाहालले आआफ्नो प्रतिवेदन पेश गरेका थिए । पेश भएका सबै प्रतिवेदन सभाको बन्द सत्रले सुझावसहित पारित गरेको जनाइएको छ ।
सभामा कमल ५ का वडाध्यक्ष डम्बर निरौला, सूर्यदर्शन साकोसका अध्यक्ष टिकाराज सापकोटा, युनाइटेड साकोसका अध्यक्ष ललित वान्तवा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सचिव भोजकुमार राईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष उषा भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् ।
शेयर पुँजी अढाई करोड बढी
सार्वजनिक गरिएको प्रतिवेदनमा गत आर्थिक बर्ष सम्ममा संस्थाको शेयर पुँजी २ करोड ५५ लाख रुपैयाँ पुगेको उल्लेख छ । संस्थाले चालू बर्षमा शेयर पुँजी ३ करोड रुपैयाँ पुरयाउने लक्ष्य राखेको पनि प्रतिवेदनमा जनाइएको छ । त्यसैगरी निक्षेप १२ करोड रुपैयाँ भई खुद बचत ४७ लाख रुपैयाँ रहेको जनाइएको छ ।
संस्थाका शेयर सदस्यको मृत्यु भएमा परिवारलाई नगद ५० हजार रुपैयाँ राहत दिने कार्यक्रम पनि ल्याएको छ । त्यस्तै शेयर सदस्यहरुका छोराछोरीलाई प्राविधिक शिक्षामा सहयोग गर्न एक लाख रुपैयाँ सम्म ब्याज अनुदानमा ऋण उपलब्ध गराइने प्रस्ताव समेत पारित भएको छ ।

Facebook Comments Box