केर्खा/ झापाको कमल गाउँपालिका वडा नं ३ स्थित केर्खा खेल मैदानमा पूर्वका किराँत याक्थुङ लिम्बु समुदायले हर्षोल्लासपूर्वक मनाउँदै आएको चासोक तङनाम समावेशी सहभागितासहित यसबर्ष पनि मनाउने तयारी भएको छ । याक्थुड युवा मञ्च कमल गाउँपालिकाद्धारा आउँदो शनिबार बृहत साँस्कृतिक कार्यक्रमसहित चासोक मनाउने तयारी गरिएको हो । आयोजक समितिले आज केरखामा पत्रकार सम्मेलन गरी किराँत समुदायले मनाउने गरेको चासोकलाई विभिन्न जातजाती र भाषभाषीहरुसँग जोडदै आपसी सदभावसहित शुभकामना साटासाट गरेर मनाउने याक्थुङ युवाहरुको सोच रहेको जनाएको हो । पत्रकार सम्मेलनमा जनाइए अनुसार आशिष लेछर्वो लिम्बुको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा प्रकाश आङवो, सचिवमा मनोज खेवा, सहसचिवमा कुमार इम्सुहागं र कोषाध्यक्षमा बबिता फोम्बो रहेका छन् । सो कार्यक्रमको संयोजकमा भने भानु सुब्बा र सदस्य सचिवमा केशवबहादुर लिम्बु रहेका छन् । आर्थिक उपसमिति संयोजकमा बबिता फोम्बो, प्रचार प्रसार समिति संयोजकमा विरेन्द्र याक्थुम्बा र सदस्य सुमन केरुगं, कला साँस्कृतिक संयोजकमा महेन्द्रकुमार लिम्बु, अतिथी सत्कार संयोजकमा पार्वता लिम्बु, स्टल व्यवस्थापन संयोजकमा सुरेन्द्र पन्धाक रहेका छन भने प्रमुख सल्लाहकारमा बसन्तराज सुब्बा लगायत रहेका छन् । सो अवसरमा केरखा र आसपास क्षेत्रका पालिकाहरुबाट केलाङ च्याब्रुङ नाच प्रतियोगितात्मक रुपमा सहभागी गराइनेछ भने राई, मगर, गुरुङ, सन्थाल लगायतका विभिन्न जातजातीका मौलिक संस्कृति झल्किने नाचहरु समेत प्रस्तुत गरिने अध्यक्ष लेछर्वोले जानकारी दिए ।

संस्थाका सल्लाहकार सुरज साँवाले याक्थुड चुम्लुङले देशव्यापीरुपमा चासोक मनाएको भए पनि यो पर्व प्राकृतिसँग जोडिएको हुँदा हिउँदभरनै मनाउन सकिने तर्क राखे । उनले ८ बर्ष अघिदेखि याक्थुड युवाहरुले खेतका गराबाट मनाउन शुरु गरेको चासोकलाई यसबर्ष थप व्यवस्थित रुपमा केर्खा खेल मैदानमा बृहत जनसहभागितासहित मनाउन लागिएको बताए ।

पत्रकार सम्मेलनमा आयोजक समितिको संरक्षकका रुपमा रहेका स्थानीय शैक्षिक व्यक्तित्व गौरीमान फागोले लिम्बु समुदायको विशेष पर्वका रुपमा रहेको चासोक क्रमश अन्य जातजाती र भाषभाषीहरुमाझ पनि उत्तिकै महत्वपूर्ण साँस्कृतिक पर्वका रुपमा स्थापित हुँदै गएको उल्लेख गरे । उनले केर्खामा चासोक मनाउने क्रम अहिले मात्रै नभएर पहिल्यैदेखिनै भएको उल्लेख गर्दै यसको क्षेत्र फराकिलो बनिरहेको र यसले विभिन्न जातजाती, भाषाभाषीहरुबीच आपसी सदभाव र सहिष्णुताको भावना बिकास गराउन मद्धत पुरयाउने विचार व्यक्त गरे ।

कार्यक्रममा याक्थुगं लिम्बु मुन्धुमविद यसेली योङहाङको प्रमुख आतिथ्य रहनेछ भने गायिका सुनिता थेगिम, चर्चित गायक ताराप्रकाश लिम्बु, सायल लिम्बु, सुनिता संयोग, सिद्धान्त खडका, ममता हिङमाङ,राजन पन्धाक, चन्द्र फुरुम्बो, दुर्गा इङनाम, अम्मर योङहाङ , गीता नेम्वाङ र दुर्गा तुम्साले आआफनो कला प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । सो कार्यक्रममा करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र मुख्य प्रायोजकका रुपमा रेडबुल रहेको जनाइएको छ ।

कार्यक्रममा स्वैच्छिक रुपमा विभिन्न सहयोगी दाताहरुले देशविदेशबाट सहयोग गरिरहेका जनाइएको छ । कार्यक्रम सम्पन्न गरेर बचत भएको रकम संस्थाको कोषमा राखिनुका साथै सामाजिक कामहरुमा खर्चिने आयोजकले जनाएको छ ।

Facebook Comments Box