दमक/ झापाको दमक ५ स्थित धनेश्वर बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाको कार्यालयस्थित सभाकक्षमा आयोजित साधारण सभाको दमक ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले उदघाटन गर्दै सहकारी क्षेत्रमा अनुशासनको आवश्यकता खडकिदै गएको औंल्याए । उनले सहकारीताको माध्यमबाट साना पुँजी भएका व्यवसायी तथा सदस्यहरुले आर्थिक गतिबिधिमा राहत अनुभव गर्न पाउनुपर्ने सुझाए ।
संस्थाका अध्यक्ष टंकप्रसाद सिटौलाले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन पेश गर्दै मुलुकको बिषम आर्थिक परिस्थितीका बाबजुद धनेश्वर सहकारीले कारोबारलाई निरन्तरता दिएको उल्लेख गरे । उनले आर्थिक कारोबारमा पारदर्शीताको कारण सदस्यहरुले विश्वास गरेको हुँदा यो संस्था निरन्तर सञ्चालन हुने वातावरण बनेको बताए ।
संस्थाले सो अवसरमा यसअघि बार्षिकोत्सवमा आयोजना गरेको रक्तदानमा सहभागी रक्तदाताहरुलाई प्रशंसा पत्र प्रदान गरेको थियो । त्यसैगरी ज्येष्ठ शेयर सदस्यहरु भक्तिप्रसाद सिटौला र युवनाथ गौतमलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ भने उत्कृष्ट बचतकर्ताका रुपमा खरिमाया बस्नेत र निरमाया धिमाललाई तथा उत्कृष्ट ऋणीका रुपमा हेम बस्नेत र सीता श्रेष्ठलाई सम्मान गरिएको छ । त्यस्तै एसइइमा उत्कृष्ट जीपिए हासिल गर्ने दुई जना बिद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
संस्थाका अध्यक्ष सिटौलाको सभापतित्वमा भएको उदघाटन कार्यक्रममा उपाध्यक्ष रुद्र चिमरियाले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव बब्रुवान दाहालले गरेका थिए । संस्थाको साधारण सभाको बन्दसत्रले सभामा प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको कोषाध्यक्ष राजकुमार गौतमले जानकारी दिए ।
