दमक/ दमक ६ मा युवा सहकारीकर्मी तथा स्थानीय व्यवसायीहरुले सञ्चालन गरेको कलश बचत तथा ऋण सहकारी संस्थाले आज ८ औं बार्षिक साधारण सभामा ज्येष्ठ शेयर सदस्य तथा उत्कृष्ट कारोबार गर्ने र बाल बचत गर्ने सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
शुक्रबार जिल्ला सहकारी संघका सदस्य प्रेम प्रसाद कोइरालाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष महेश घिमिरेको अध्यक्षतामा भएको साधारण सभामा करिब एक सय जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको संस्थाका व्यवस्थापक शेखर भट्टराईले जानकारी दिए ।
सो अवसरमा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, नवनिर्वाचित अध्यक्ष गोकुल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रवन्धक विवेक डाँगी, जिल्ला सहकारी संघका लेखा सदस्य चुडामणी ओझा, सामाजिक व्यक्तित्व विजय प्रसाद बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका उपाध्यक्ष युवराज खनाल ( सागर)ले स्वागत मन्तव्य राखेको सो सभाको सञ्चालन सचिव पदमप्रसाद न्यौपानेले गरेका थिए ।
शेयर पुँजी पौने २ करोड
सभामा संस्थाको तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महेश घिमिरेले अघिल्लो आर्थिक बर्षको तुलनामा संस्थाले गत आर्थिक बर्षमा आफ्नो कारोबारमा उल्लेख्य बृद्धि गरेको तथ्याङक सार्वजनिक गरे । संस्थाको शेयर पुँजीमा समेत गत बर्षको तुलनामा झण्डै २५ लाख रुपैयाँ भन्दा बढी बृद्धि भई एक करोड ७१ लाख ६६ हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी आगामी आर्थिक बर्षमा शेयर पुँजी २ करोड २५ लाख पुरयाउने लक्ष्य लिइएको छ । संस्थाको ऋण लगानीमा समेत अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा २ करोड बृद्धि गर्दै १२ करोड रुपैयाँ पुरयाएको उल्लेख छ । सो संस्थाले बचत तथा ऋणका अतिरिक्त सामाजिक तथा व्यवसायिक क्षेत्रमा समेत कारोबार गर्दै आएको छ ।