बिर्तामोड/ बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले एक जना शेयर सदस्यको एक लाख रुपैयाँ कर्जा मिनाहा गरेको छ । सहकारीको भद्रपुर सेवा केन्द्र अन्तर्गतकी शेयर सदस्य उर्मिला राजवंशीको निधन भएकोले उनले लिएको एक लाख रुपैयाँ भन्दा बढी कर्जा मिनाहा गरिदिएको हो ।
राजबंशीको निधन भएको नवांै पुन्यतिथिका दिन आज संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ नेतृत्वको सहकारीको टोलीले घरमै पुगेर १ लाख १४ हजार रुपैयाँ कर्जा रकम मिनाहा गरिदिएको भद्रपुर सेवा केन्द्र प्रमुख सुजन भण्डारीले जानकारी दिए ।
स्व. राजबंशीले कर्णाली सहकारीबाट २०७६ माघ २३ गते २ लाख ५० हजार रुपैयाँ कर्जा लिएकी थिइन । सो रकमको साँवा र ब्याज नियमित रुपमा तिर्दै आएकी उनको गत माघ २४ गते निधन भएको थियो ।
संस्थाका कुनै सदस्यले लिएको कर्जा नियमित किस्ता तिर्दै गर्दा निधन भएमा बाँकी रकम मिनाहा गर्ने संस्थाको नियम अनुसार सो रकम मिनाहा गरिदिएको भद्रपुर सेवा केन्द्र प्रमुख भण्डारीले बताए ।
सहकारीको टोलीले कर्जा रकम मिनाहा गर्नुका साथै मानोचामलका रुपमा सहयोग रकम समेत परिवारलाई हस्तान्तरण गरेको थियो ।