दमक/ राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रलाई जोगाउन स्वंय सहकारीका सञ्चालकहरुनै सजग हुनुपर्ने बताएकी छिन ।

झापाको दमकमा बुधबार दमक ६ स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मिन भवन उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले थोरै सहकारीहरुमा आएको समस्यालाई लिएर धेरै सहकारी बदनाम हुने अवस्था आउनु सहकारी अभियानका लागि दुखद भएको उल्लेख गरिन ।

उनले अन्तराष्ट्रिय जगतमा सहकारीको महत्व र गरिमा बढदो रुपमा भएपनि नेपालमा त्यसको विपरित अवस्था आउनुका पछाडी राज्यपक्ष पनि कारक भएको जिकिर गरिन ।

अध्यक्ष मल्लले सहकारी अभियान आम नागरिकका लागि अपरिहार्य भएको र यसलाई सचेततापूर्वक अघि बढाउन सहकारीका सञ्चालक समिति र शेयर सदस्यहरुनै जिम्मेवार हुनुपर्ने पनि सुझाइन ।

सहकारीका क्षेत्रमा दमकको सुर्यदर्शन सहकारी अलग पहिचान बनाउन सफल भएको भन्दै आफनै सुविधा सम्पन्न भवनबाट आगामी दिनमा यसले अझ सहज रुपमा सेवा प्रवाह गर्नेमा आफू विश्वस्त रहेको पनि बताइन ।

संस्थाका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले सहकारी संस्थाहरुले आफना शेयर सदस्यहरुप्रति उत्तरदायी भुमिका निर्वाह गर्नुपर्ने बताइन । उनले स्थानीय सरकारले सहकारी र सहकारीका बचतकर्ताहरु दुवैप्रति समान दृष्टिकोण राखेर अघि बढिरहेको भन्दै यो क्षेत्रका समस्या समाधानमा इमान्दार बन्नुपर्ने धारणा राखिन ।

दमकमा १४ बर्ष अघि स्थापना भएको सुर्यदर्शन सहकारीले यसअघिनै आफनै भवनबाट कारोबार गरिआएको भएपनि शेयर सदस्यहरुको चाप व्यवस्थापन र आर्थिक कारोबारमा सहजताका लागि थप सुविधा सम्पन्न आफनै भवनबाट कारोबार शुरु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले जानकारी दिए । उनले नगरपालिका रोडमा पर्ने नमुना बजारबाट उत्तरतर्फ रहेको सो भवनबाट आजैदेखि संस्थाको सम्पूर्ण कारोबार शुरु गरिएको बताए । अलग अलग प्रयोजनका तीन वटा मिटिङ हलसहितको सुविधा सम्पन्न भवन संस्थाको बलियो जग भएको संस्थाका अध्यक्ष सापकोटाले बताए ।

कार्यक्रममा संस्थाका व्यवस्थापक राजकुमार खडकाले स्वागत मन्तव्य राखेका थिए ।

Facebook Comments Box