दमक/  चलचित्र ‘महाजात्रा’ले शुरुवाती प्रदर्शनमा दर्शकहरुको उत्साहजनक साथ पाएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आट्र्सले निर्माण गरेको यस्तो तेस्रो भाग महाजात्रा चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको छ ।
प्रदर्शनको पहिलो दिन शुक्रबार र दोश्रो दिन शनिबार दमकसहित देशैभरका अधिकांस शो हाउसफुल भएका नेपाल चलचित्र व्यवसायी संघका केन्द्रिय सदस्य समेत रहेका पाथीभरा चलचित्र हल दमकका सञ्चालक चैतन्य बरालले जानकारी दिए ।
फिल्म हेर्न हल पुगेका दर्शकले ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट भनेको ‘महाजात्रा’ लाई पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहले पनि हेरेकी छन् ।
शुक्रबार बेलुकी काठमाडौँस्थित सिभिल मलमा हिमानी ट्रष्टद्वारा आयोजित शोमा सहभागी हुँदै उनले फिल्म हेरेकी हुन् । फिल्म हेरेपछि उनले ‘महाजात्रा’ टिमसँग भेटघाट गर्दै बधाई दिइन् । पूर्व रानी शाहले संक्षिप्त प्रतिक्रिया दिदै भनिन ‘फिल्म रमाइलो बनेको छ । एकदम मनपर्याे । हामी सबैले रमाइलो गर्याै ।’
शुक्रबार हलमा फिल्म हेरिरहेका दर्शकसँग साक्षात्कार गर्न निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत लगायत पुगेका थिए ।
निर्देशक भट्टराईले पहिलोदिन प्राप्त गरेको मायालाई शब्दमा व्यक्त गर्न नसकिने बताए । महाजात्रा नेपाल मात्र नभई विदेशमा पनि हाउसफुल भइरहेको छ ।
हामीलाई गर्नुभएको माया र विश्वासलाई हामीले जति धन्यवाद दिए पनि अपुग हुन्छ । हामीलाई दर्शकको विश्वासमा अडिग रहने चुनौती थियो । आज विश्वभरबाट प्राप्त प्रतिक्रियाले हाम्रो टिम नै उत्साहित छ’, निर्देशक भट्टराईले भने ।

कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले काठमाडौँ मात्र नभई दर्शकसँग भेटघाट गर्न मोफसल पनि पुग्ने जानकारी दिए । ‘हामीले पहिलो चरणमा काठमाडौँमा प्रचारप्रसार गरिरहेका छौँ । हामी छिट्टै नै मोफसलका दर्शकसँग पनि भेटघाट गर्दैछौँ’, अभिनेता बानियाँले भने ।

 

Facebook Comments Box