दमक/ झापाको कमल गाउँपालिकाले प्राङगारिक मल तथा जैबिक बिषादी बनाउन किसानहरुलाई अभिप्रेरित तालिमसँगै तरकारीको बिउ बितरण गरेको छ ।

गाउँपालिकाको कृषि शाखाले बुधबार वडा नं ५ स्थित मंगलबारेमा प्राङगारिक मल तथा जैविक बिषादी बनाउने सम्बन्धि घुम्ती स्थलगत तालिम सञ्चालन गरेको हो । तालिमको उदघाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले यस खाले तालिमका माध्यमबाट आफनै करेसाबारीमा बिषादीमुक्त साग सब्जी फलाएर सबैले तरकारीमा आत्मनिर्भर बन्न सक्ने बताए । उनले मौसम अनुकुलका बाली नाली र कृषि उपजहरुको उत्पादनमा गाउँपालिकाबासीलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरु ल्याइएको बताए ।

उनले शिक्षा, स्वास्थ्य र कृषि कमल गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै कृषिका माध्यमबाट ठुलो आर्थिक क्रान्तिको कुरा भन्दा पनि घर घरै आत्मनिर्भर बन्न सकेमात्रै पनि ठुलो उपलब्धि हुने विचार व्यक्त गरे । गाउँपालिकाले व्यवसायिक कृषिको बिकास र कृषिमा आधुनिकीकरणका लागि कृषिलाई प्रविधिसँग जोड्ने कार्यक्रमहरु समेत ल्याएको अध्यक्ष राईको भनाई छ ।

तालिममा गाउँपालिकाका कृषि शाखा प्रमुख महेन्द्र बोहोरा र कृषि प्राविधिक प्रेम पोखरेलले सहभागीहरुलाई घरमै जैबिक बिषादी बनाउने तरिका, तरकारी तथा अन्य बालीहरु लगाउँदा अपनाउनुपर्ने सजगता र कृषि बाली स्याहार तथा संरक्षणका लागि विभिन्न उपायहरु अवलम्बन गर्ने बिषयमा स्थलगत रुपमै जानकारीमुलक प्रशिक्षण दिएका थिए ।
गाउँपालिकाको कृषि शाखाले सो तालिममा सहभागीहरुलाई विभिन्न तरकारीका बिउहरु निशुल्क प्रदान गरेको जनाइएको छ । तालिममा करिब ६० जना कृषकहरु सहभागी थिए ।

 

Facebook Comments Box