दमक/झापाको दमक ८ मा दमक जेसीजसंगको सहकार्यमा दमक ८ को वडा कार्यालयले सञ्चालन गरेको सरसफाई सप्ताह तथा स्वास्थ्य परिक्षण अभियान आज औपाचारिक रुपमा समापन गरिएको छ ।
समापनका अवसरामा सरसफाई अभियान सञ्चालन गरिएका सो वडा भित्रका ३१ वटै टोल विकास संस्थालाई टोलमा फोहोर व्यवस्थापनमा सहयोग पुरयाउने उदेश्यले कूल ३१० वटा डस्टविन वितरण गरिएको छ । सरसफाई तथा स्वास्थ्य परीक्षण अभियानका क्रममा जनप्रतिनिधि तथा सामाजिक , राजनीतिक अगुवाहरु समेतको सहभागितामा टोलबासी सहभागी भएका थिए ।
स्वास्थ्य परीक्षण शिविर अन्तर्गत महिलाहरुको पाठेघरको मुखको क्यान्सर परिक्षणका लागि ३ दिन सम्म नमुना संकलन गरिएको थियो । सो क्रममा करीब २ सय जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि नमुना संकलन गरि प्रयोगशाला पठाइएको सो अभियान व्यवस्थापन संयोजक प्रकाश प्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै मधुमेह र मिर्गौलाको परीक्षण समेत गरिएको थियो । त्यस अवसरमा २ सय ५० जनाले सो परीक्षण गराएका दमक ८ का वडा सदस्य समेत रहेका दमक जेसीजका अध्यक्ष भीमराज चँौंलागाइँले जानकारी दिए ।
अभियानको औपचारिकता समापन गरिएपनि टोल टोलमा सरसफाईलाई निरन्तर गरिरहन प्रेरणा जगाउने उद्धेश्यले उत्कृष्ट सरसफाई गर्ने टोललाई पुरस्कृत गर्ने नीति पनि वडा कार्यालयले लिएको वडाध्यक्ष पशुपतिराज गौतमले बताए । त्यस्तै कानुनले वर्जित गरेका गतिबिधि गर्ने, जथाभावी फोहोर फ्ँयाक्नेलाई भने दण्डित गरिने गौतमले जनाएका छन् । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्य र वडाध्यक्ष गौतमको अध्यक्षतामा समापन तथा डस्टविन वितरण गरिएको वडा कार्यालय सचिव निधी ढुंगेलले जानकारी दिए ।