दमक/ झापाको दमक ३ मा जारी प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा शान्तिदिप युवा क्लब दमक ९ ले न्यू स्टार युथ क्लब दमक ४ लाई हराएको छ । शान्तिदिपले ३–१ को गोल अन्तरले न्यू स्टारलाई पराजित गरेको हो ।
शान्तिदिपका तर्फबाट श्याम खड्काले खेलको छैठौं मिनटमा नै गोल गरेर खाता खोलेका थिए भने सोही टिमका अरुण लिम्बु, ३५ र ४६ औं मिनटमा २ गोल गर्न सफल भएका थिए ।
जवाफमा न्यू स्टारका तर्फबाट सुनिल लिम्बुले ४६ औं मिनटमै सान्तवना स्वरुप एक गोल गर्न सफल भएका थिए । सो खेलमा शान्तिदिपका अरुण लिम्बु म्यान अफ द म्याच घोषित भएका खेल संयोजक कुमार गिरीले जानकारी दिनु भयो ।
सो प्रतियोगिता दमक ३ को वडा कार्यालयको संयोजन तथा नगरपालिकाको संरक्षकत्वमा गत असोज २९ गतेदेखि सञ्चालन भईरहेको छ । कार्तिक ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन टिम सहभागी छन् । विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने दमक ३ का वडाध्यक्ष नविन बरालले जानकारी दिनु भयो ।