बिर्तामोड/ पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडी पुरुषमा आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगूले जितेकी छन् ।

उनीहरुले २०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा बिहीबार नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाको आयोजनामा भएको पाँचौँ स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित गरिएको हो । उनीहरुले नगद एक÷एक लाख, ट्रफी र गिफ्ट ह्याम्पर हात पारे ।

त्यस्तै, लाइफ टाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन मेनुका राउतलाई सम्मान गरिएको छ । उनलाई नगद ५० हजार, ट्रफी र गिफ्ट ह्याम्परले सम्मान गरिएको हो ।

उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट रमेश समदर्शीलाई सम्मान गरिएको छ । एनएसजेएफ झापाका संस्थापक अध्यक्ष समदर्शीलाई नगद ३५ हजार र ट्रफीले सम्मान गरिएको हो ।

त्यस्तै, स्पेसल अचिभमेन्ट अवार्डबाट फिफा रेफ्री श्याम दनुवारलाई सम्मान गरिएको छ । उनलाई नगद २५ हजार र ट्रफीले सम्मान गरिएको हो ।

२०७९ मा प्रदर्शन गरेको आधारमा वर्ष उत्कृष्ट युवा खेलाडीमा पौडीका प्रारम्भ भण्डारी, पिपुल्स च्वाइस अवार्डबाट क्रिकेटकी रुविना क्षेत्री र वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका डम्बर लिम्बू घोषित भए । उनीहरुले जनही २५ हजार नगद र ट्रफी पुरस्कार प्राप्त गरे ।

२०७३ सालबाट सुरु भएको झापा स्पोट्र्स अवार्डको यो पाँचौँ संस्करण हो । यसपटक खेलकुद पत्रकार मञ्च झापाले २०७९ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्ने झापाली खेलाडी तथा खेल प्रतिभालाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले, सदस्य मदन खड्का, अर्जुनधारा नगरपालिका उपप्रमुख खड्गमाया पराजुली, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष दुर्गानाथ सुवेदी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

Facebook Comments Box