दमक/ झापाको शिवसताक्षीमा खेलकुदका विभिन्न पाँच विधामा वडास्तरीय मेयरकप खेल खेलकुद प्रतियोगिता हुने भएको छ ।

३० बैशाखदेखि ५ जेठ सम्म सञ्चालन हुन लागेको मेयर कप सो प्रतियोगिता अन्तर्गत फरक फरक पाँच खेलमा नगरका ११ वटै वडाबाट खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।
शिवसताक्षी नगर खेलकुद बिकास समितिले बिहिबार (आज) नगरपालिकामा पत्रकार सम्मेलन गर्दै फुटबल, भलिबल, क्रिकेट, कराँते र ब्याडमिन्टनका अलग अलग प्रतियोगिता हुने जनाएको हो । नगर खेलकुद बिकास समितिका संयोजक सुरज रिङगालुङका अनुसार ब्याडमिन्टन बाहेकका सबै खेलहरु झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा हुनेछन् । ब्याडमिन्टन खेलको प्रतियोगिता भने दुधेस्थित कभर्ड हलमा सञ्चालन हुनेछ ।

फुटबल प्रतियोगिता तर्फ विजेताले नगद ७० हजार रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन भने भलिबल तर्फ विजेताले ५० हजार र उपविजेताले नगद ३० हजार रुपैयाँ, क्रिकेट तर्फ विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजारसहित ट्रफी र मेडल समेत प्राप्त गर्नेछन् ।

ब्याडमिन्टन डबल तर्फ प्रथम हुनेले नगद १० हजार र दोश्रो हुनेले ६ हजारसहित ट्रफी र मेडल प्राप्त गर्न सक्नेछन् । त्यसैगरी सिंगलतर्फ भने प्रथम हुनेले नगद ५ हजार र दोश्रो हुनेले ३ हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । फुटबल तर्फ सबै विधामा नगद पुरस्कार व्यवस्था गरिएको छ भने भलिबल र क्रिकेट तर्फ पनि विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

खेलकुद बिकास समिति संयोजक रिङगालुङले खेलाडीहरुको माग र आवश्यकतालाई ध्यानमा राखेर वडा वडाका गाउँ टोल सम्म पुगेर फुटबल, जर्सी , भलिबल, क्रिकेटका सामग्री आदि वितरण गर्ने काम भइरहेको जानकारी दिए । यसले सिंगो नगरभरीनै खेलकुदप्रति युवाहरुलाई आकर्षित गराउँदै खेलको बिकासमा योगदान दिने विश्वास लिइएको संयोजक राईले बताए ।
पत्रकार सम्मेलनमा नगरपालिकाका युवा, शिक्षा तथा खेलकुद शाखाका प्रमुख छबि ढकालले यो प्रतियोगिताले स्थानीय खेल प्रतिभाको उजागर गर्दै बिकासमा समेत योगदान पुरयाउने विश्वास गरिएको बताए ।

Facebook Comments Box