दमक/ झापाको दमक नगरपालिकाले प्रथम नागरिक धिमाल जातीले मनाउने सिरिजात जात्री पर्वको अवसरमा बर्षेनी लगाइने सिरिजात जातिरी मेलालाई मध्यनजर गर्दै स्थानीय सार्वजनिक विदा दिएको छ ।
नगरपालिका कार्यपालिकाको बैठकको निर्णय अनुसार आइतबार ९आज० दमक नगरमा स्थानीय सार्वजनिक विदा दिइएपछि धिमालहरुले खुशी व्यक्त गर्दै साँस्कृतिक मेलामा रमाएका छन् । धिमाल समुदायका अगुवा युवा एवं पूर्व जनप्रतिनिधि मणिराज धिमालले सामाजिक सञ्जालमार्फत स्थानीय सरकारले जातिरी मेलाको दिन पारेर दिएको सार्वजनिक बिदा प्रति धन्यवाद व्यक्त गरेका छन् ।
अल्पसंख्यक तथा दमक नगरपालिकाद्धारा घोषित प्रथम नागरिक धिमालहरुको परम्परागत ढोल बाजाको संस्कृति लोप हुन नदिन यहि बेला स्थानीय सरकारले दमकमा यो समुदायलाई लक्षित गरेर ढोल बाजा बजाउने र नृत्य प्रशिक्षण सञ्चालन गरेको छ ।
पछिल्लो समय लोप भएका सँस्कृतिको खोजीसँगै बाजा बजाउन सिक्ने काममा युवा पुस्तालाई आकर्षित गर्न जेठको दोश्रो सातादेखि दमक ४ मा ढोल बजाउने तालिम दिइएको थियो ।
धिमालले पोदो अर्थात ढोलमा बजाईने साँस्कृतिक तालको संरक्षणमा यसले मद्धत पुरयाउने प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमाल बताउँछन् ।
ढोल बाजा भनेको काठमा छालाले ढाकेर बनाइएको एक प्रकारको बाजा हो ।
धिमाल जातिले बजाउने ढोल अरु जातिले बजाउने भन्दा केही फरक छ । बाजा मात्र फरक होइन यसमा बजाइने तालहरु समेत फरक हुने गरेकाले लोपोन्मुख तालको खोजी गर्न गाउँघरमा पछिल्लो समय तालिम दिन थालेको धिमालका अगुवा रतन धिमाल बताउँछन् ।
धिमालका अनुसार १३ प्रकारको तालमा हरेकको महत्व र अवस्था अनुसार बजाइने गरिन्छ ।
खासगरी पूजा गर्दा, बाटोमा हिड्दा, रमाइलो गर्दा देखि अन्य अवस्थाबारे समेत ढोलको आवाजबाट थाहा हुने बताए ।
तर पछिल्लो समय ताल त के ढोल बजाउनेहरु नै हराउँदै गएकाले सँस्कृति संरक्षणमा चिन्ता थपिन्दै गएको उनको भनाइ छ ।
धिमाल जातिको आफ्नै भाषा, धर्म, सँस्कृति र भेषभुषा छन् । तर ती यूवा पुस्ताहरुले भुल्दै लगेका छन् ।
संस्कार सँस्कृति र भाषा नै हराए पछि जाति पनि हराउला भन्ने चिन्ताले पछिल्लो समय लोपोन्मुख सँस्कृतिको संरक्षणमा जुटेको प्रथम नागरिक धिमाल व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालले बताए ।
मातृभाषा समेत लोप हुने खतरा रहेका धिमाल जातीका युवा पुस्ताले बाउबाजेले बजाउने ढोलका १३ वटा तालहरु यो विशेष तालिममा सिकेका छन् ।
तर ढोल नै लोप हुने अवस्थाले भने चुनौती थप्दै लगेको उनीहरुको भनाई छ । ढोल बनाउने काठ र बन्य जन्तुको छाला समेत अभाव हुन थालेकाले ढोल विस्तारै लोप हुँदै गएको हो । हातले पराम्परागत तरिकाले बनाउने हो भने लामो समय लाग्ने ढोल बनाउँदा ५० हजार बढी खर्च हुने बताइएको छ ।
नेपालमा १४२ जातिहरु मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा रहेका छन् । नेपालमा २५ हजार ६४३ जनसंख्या रहेको धिमाल जातिले आफ्नो सँस्कृति संरक्षणमा चासो राख्नुले अन्य जातिलाई समेत प्रेरणा मिल्ने आदिवासी जनजाती महासंघ झापाका पूर्व अध्यक्ष पारसमणी राई बताउँछन् ।