दमक/ मानवहित संरक्षण मञ्च नेपालको मुख्य आयोजना र नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल खेलकुद महासंघको आयोजनामा झापामा १० किलोमिटर खुल्ला दौड र ५ किलोमिटर स्थानीय दौड प्रतियोगिता हुने भएको छ ।
स्वास्थ्य, भातृत्व र पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने नारासहित २१ असारमा झापाको दमक ९ स्थित भाटभटेनी सुपरमार्केट परिसरबाट शुरु हुने दौडको समापन कमल ३ स्थित पूर्व जनमुक्ती सेना नेपालद्धारा निर्मित सहिद गेटस्थलमा हुने जनाइएको छ । आयोजक संस्थाले खुल्ला दौडमा नेपाल, भारत, भुटानका समेत करिब ५ सय धावकहरुले सहभागिता जनाउने अपेक्षा गरेका छन् ।
दौडमा सहभागिताका लागि १७ असारदेखि नाम दर्ताको क्रम शुरु भएकाले इच्छुक सबैलाई सहभागिताको सुनिश्चितताका लागि नाम दर्ता गराउन भनेको छ । दमकमा आयोजित पत्रकार सम्मेलनमा आयोजक मानवहित संरक्षण मञ्च खेलकुद समितिकी संयोजक समुन्द्रा लामाले दौड प्रतियोगितामा सहभागी भई छैठौं स्थानसम्म हासिल गर्ने धावकलाई नगद ५० हजारदेखि २ हजार सम्म पुरस्कार राशी राखिएको जानकारी दिइन् ।
वन,वातावरण तथा पर्यटन मन्त्रालयको सहयोगमा आयोजना गर्न लागिएको यो प्रतियोगिताको १० किलोमिटर तर्फको खुल्ला दौडमा देश विदेशका समेत महिला र पुरुष दुवै समुहबाट प्रथम हुनेले नगद ५० हजार, द्धितीय हुनेले नगद २५ हजार, तृतीय हुनेले नगद १५ हजार, चौथो हुनेले नगद ५ हजार, पाँचौ हुनेले नगद ३ हजार र छैठौं हुनेले २ हजार रुपैयाँ राशीको पुरस्कार पाउनेछन् ।
त्यसैगरी स्थानीय तर्फको ५ किलोमिटर दौड प्रतियोगिता भाटभटेनी परिसरबाट शुरु भई आदिवासी रंगशाला कमल ५ सम्म पुगेर टुंगिनेछ । सो प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्धितीय हुनेले १० हजार, तृतीय हुनेले ५ हजार, चौथो हुनेले २ हजार र पाँचांैं हुनेले १ हजार रुपैयाँ राशीको पुरस्कार पाउनेछन् ।
सो दौडबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एथ्लेटिक्स प्रशिक्षक तथा इभेन्ट डाइरेक्टर लोकप्रसाद ओली, सो प्रतियोगिताको व्यवस्थापन पक्षमा सघाएको भनिएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रञ्जित तामाङ, पार्टीका झापा संयोजक राजु आचार्य (अग्नी) , दमक नगर कमिटी अध्ययक्ष रवि बस्नेतले पनि सो दौड आयोजनाको औचित्य र महत्वबारे प्रष्ट्याउँदै खेलकुद क्षेत्र स्वास्थ्य र पर्यटनसँग समेत जोडिएकाले यसको चौतर्फी बिकासमा सबै राजनीतिक दल, संघ संस्थाहरु र आम नागरिकको सकारात्मक सहयोगको आवश्यकता हुने बताए ।