दमक/ सहकारी संस्था सञ्चालनमा भएको कमी कमजोरीका कारण सहकारी क्षेत्रमा समस्या देखिएको औंल्याउँदै सरोकारवालाहरुले सहकारी क्षेत्र सुधारका लागि स्वयं सहकारी संस्थाका सञ्चालकहरुकै पहिलो जिम्मेवारी हुनेमा जोड दिएका छन् ।
दमक ५ स्थित डाँफे सामुदायिक बचत तथा ऋण संस्थाको १८ औं स्थापना दिवसको अवसरमा बिहिबार आयोजित अन्तरक्रिया तथा सेयर सदस्यहरु सम्मान कार्यक्रमका वक्ताहरुले त्यस्तो जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री राम राना मगरले सहकारीहरु स्वयनियममा सञ्चालन हुने संस्था भएकाले आआफ्नो संस्थामा आउन सक्ने समस्याप्रति स्वयं संस्थाका सञ्चालकहरुनै सजग हुनुपर्ने औंल्याए ।
मन्त्री रानाले सहकारीहरुले सदस्यहरुको बचत फिर्ताका लागि आवश्यक तरलता व्यवस्थापन गरे कुनै समस्या नहुने बताए । बचत कर्ताले आफ्नो पैसा फिर्ता माग्न आउँदा पाएनन भने विश्वास घट्ने भएकाले जुनसुकै बेला पनि सहकारीमा समस्या आउने मन्त्री रानाको भनाई थियो । सहकारीहरुले आआफनो विनियममा आवश्यकता अनुसार संशोधन गर्न तयार हुनुपर्ने बेला आएको पनि मन्त्री रानाको भनाई थियो ।
सहकारीहरु खुल्ने तर तिनको नियमन तथा अनुगमन कम्जोर हुँदा गलत तत्वहरुले नाजायज फाइदा उठाएका कारण सदस्यहरुको ठुलो बचत रकम जोखिममा पर्ने तर्फ सरकार सचेत रहेको भन्दै अब त्यस्तो छुट नहुने स्पष्ट पारे ।
संस्थाका शेयर सदस्यहरु आफ्नो संस्था बचाउने तर्फ सतर्क हुनुपर्ने सुझाउँदै मन्त्री रानाले सहकारी क्षेत्रका समस्याहरुको एकमुष्ठ सम्बोधनका लागि नयाँ कानुनको पनि आवश्यक पर्न सक्ने मन्त्री रानाको भनाई थियो ।
कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सभा सदस्य होमबहादुर थापाले सहकारी क्षेत्रमा देखिएको अराजकतालाई हल गर्न स्वयं सहकारी अभियान्ताहरु, राज्य पक्ष, नीति निर्माण पक्षहरुबीच आपसी समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । वित्तीय अनुशासनको पालना नगर्दा हुन सक्ने जोखिम तर्फ आम नागरिक सचेत हुनुपर्ने उनको भनाई थियो ।
संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा मेनेजर्स क्लव झापाका अध्यक्ष खोमप्रसाद बगाले, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष प्रेम कोइराला, जिल्ला बचत तथा ऋण सहकारी संघकी जिल्ला सदस्य चन्द्रा खड्का भटटराई, लगायतले सहकारीका विषयमा बोलेका थिए ।
सो अवसरमा संस्थामा कारोवार गर्ने बाल बचत, उत्कृष्ठ ऋणी तथा बचतकर्ता गरि ३८ जना सदस्यहरुलाई समेत पुरस्कृत गरिएको संस्थाका सचिव लिलानाथ खनालले जानकारी दिए ।
सहकारीले सञ्चालन गरेको खुला रक्तदानमा ५७ पिन्ट रगत संकलन भएको थियो । द मक –५ मा मुख्य कार्यालय रहेको सहकारीले झापा र मोरङका ६ ठाउँमा सेवा केन्द्र तथा मुख्य कार्यालय स्थापना गरी कारोबार गर्दै आएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत शेयर सदस्य परिवारका विपन्न छात्रछात्राहरु बर्षेनी दुई जनाको अभिभावकत्व ग्रहण गर्दै आएको अध्यक्ष न्यौपानेले बताए ।