झापामा बयोबृद्ध स्रष्टा विश्वप्रसाद अधिकारीद्धारा लिखित पाँचौं कृति भोजपुरदेखि झापा सम्मको संस्मरण यात्रा नामक पुस्तक लोकार्पण गरिएको छ ।
झापा गौरीगञ्ज गाउँपालिका वडा नं १ महाभाराका स्थायीबासिन्दा पूर्व शिक्षक एवं ८७ बर्षिय स्रष्टा विश्वप्रसाद अधिकारीद्धारा लिखित सो पुस्तक दमकमा आयोजित औपचारिक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।
३०० पृष्ठको सो पुस्तकको दमक ५ स्थित दिपिनी आधारभूत बिद्यालयको सभाकक्षमा झापा क्षेत्र नं ४ (क)बाट निर्वाचित कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो । गौरीगञ्ज १ महाभारास्थित बाल कल्याण मावि अन्तर्गत रहने गरी सामाजिक संस्थाका रुपमा स्थापना भएको विश्वप्रसाद अधिकारी प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रमको अध्यक्षता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वरप्रसाद राजवंशीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी खनाल, विशिष्ट अतिथी गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति समेत रहेका स्रष्टा एवं कवि प्रकाश बुढथोकी, कमला मदन आश्रिम माविका प्रधानाध्यापक हिम दाहाल, दिपिनी आधारभूतका प्रधानाध्यापक शेषकुमार निरौला, कृतिकार अधिकारी र उनकी धर्मपत्नी विमला अधिकारी लगायत स्रष्टाहरुले संयुक्त रुपमा सो कृतिको लोकार्पण गरेका हुन् ।
लोकार्पण कार्यक्रमका वक्ताहरुले कृतिकारले सामाजिक, शैक्षिक जगतमा आफ्नो जिवन भोगाइका अनुभवहरु र प्राप्त उपलब्धि एवं सामाजिक योगदानका बिषयलाई समेटेर प्रकाशनमा ल्याएको सो कृति समाजका नयाँ पुस्ताका लागि मार्गदर्शन बन्न सक्ने चर्चा गरे ।
सो अवसरमा कृतिकार अधिकारीले आफ्नो पारिवारिक पृष्ठभुमीबारे समेत जानकारी गराउँदै आफ्नो जिवनकालको अन्तिम कृतिका रुपमा भोजपुरदेखि झापा सम्मको संस्मरण यात्रा पुस्तकलाई लिइदिन आग्रह गरे । ज्येष्ठ नागरिक जिल्ला संघ गौरीगञ्जको अध्यक्ष समेत भइसकेका उनको कृति लोकार्पणमा झापादेखि भोजपुर सम्मका स्रष्टाहरु एवं साहित्यीक व्यक्तित्वहरुको उपस्थिती थियो ।
कार्यक्रममा बालकल्याणका प्रधानाध्यापक एवं प्रतिष्ठानका सचिव भिमप्रसाद कोइरालाले स्वागतसहित औचित्यबारे प्रष्ट्याएका थिए भने सञ्चालन स्रष्टा विवश बलिभद्र कोइरालाले गरेका थिए ।

को हुन कृतिकार अधिकारी ?

विसं १९९५ साल श्रावण ५ गते भोजपुरको हाल अरुण गाउँपालिका वडा नं ५ याकुकट्टीमा बुबा स्वर्गीय टंक प्रसाद र आमा शिवमाया अधिकारीको कोखबाट जन्मिएका कृतिकार अधिकारीले यसअघि शैक्षिक अवलोकन एक अध्ययन नामक कथा संग्रह, हिजोदेखि आजसम्मको जिवन यात्रा नामक आत्मकथा पुस्तक, पचास थुँगा फुलको माला नामक कविता संग्रह, चारपोका कोशेली नामक समालोचक कथाका साथै अन्य धेरै फुट्कर कविताहरु पत्रपत्रिकामा प्रकाशन गरिसकेका छन् ।
एसएलसी सम्मको अध्ययन गरेका कृतिकार अधिकारीले आफ्नो जन्मथलो भोजपुरदेखि झापा सम्म आउँदा विभिन्न संघ संस्थाको स्थापनामा अग्रणी भुमिका निर्वाह गर्नुका साथै अक्षयकोष दाताका रुपमा समेत रहेर योगदान दिएका छन् ।
उनले विं २०१५ सालमा एक बर्ष सम्म विश्वप्रेमी मिडिल स्कूल याकु भोजपुरमा शिक्षकको रुपमा रहेर शिक्षण पेशाको शुरुवात गरेका थिए भने २०१६ सालमा पञ्चकन्या प्रावि भोजपुर याकुकट्टीको संस्थापक प्रधानाध्यापक, हालको कमल २ साविक तोपगाछीमा पर्ने तत्कालिन कमला प्राविमा २०१९ देखि २०२३ साल सम्म संस्थापक प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हालेका थिए । तोपगाछीकै अर्को बिद्यालय महेन्द्ररत्न हाइस्कूलको संस्थापक सदस्य समेत रहेका २०५३ सालमा कन्काई नहर जल उपभोक्ता सदस्यका रुपमा समेत रहेका थिए । २०५४ सालको स्थानीय निकायको चुनावमा तत्कालिन महाभारा गाविसको वडा नं ४ बाट वडा सदस्यमा समेत निर्वाचित भएर जनप्रतिनिधि बनेका अधिकारीले बाल कल्याण मावि कुञ्जीबारीको व्यवस्थापन समितिमा समेत लामो समय सम्म रहेर जिम्मेवारी निर्वाह गरेका थिए । उनी साना किसान सहकारी संस्था महाभाराको संस्थापक उपाध्यक्ष पनि हुन् ।
२०१३ सालमा अधिकारी वनारसबाट प्रकाशन हुने छात्रादुत मासिक बनारस र चैनपुरबाट प्रकाशन हुने नौलो पाइला नामक पत्रिका, छाहारी द्धैमासिक विराटनगर, पञ्चायत मासिक पत्र झापा, सूर्योदय साप्ताहिक भद्रपुर झापा, युगज्ञान साप्ताहिक भद्रपुर (२०२८) , विवेचना अर्धसाप्ताहिक भद्रपुर २०२९ र आलोक साप्ताहिक भद्रपुर २०२९ मा समेत जोडिएर आफ्ना लेख, रचनाहरु प्रकाशित गरेका छन् । उनलाई अहिले सम्म दर्जनौं शैक्षिक तथा सामाजिक संघ संस्थाहरुले सम्मान गरिसकेका छन् ।

Facebook Comments Box