अमेरिकाको भर्जिनियाबाट बेपत्ता नेपाली नर्स ममता काफ्लेको आफ्नै पति नरेश भाटले हत्या गरेको हुन सक्ने प्रहरीको दाबी छ । यद्यपी भाटले आधिकारिक रुपमा त्यहाँको अदालतमा सो अभियोग स्विकार गरिसकेका छैनन् ।

ममताका पति भाटले तीनवटा चक्कु र सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको खुलेको प्रहरीको भनाई छ ।
किनेका तीनवटा चक्कुमध्ये २ वटा फेला नपरेको जनाइएको छ । अनुसन्धानकर्ताहरुले मास्टर बेडरूम र बाथरुममा रगतका टाटाजस्ता देखिने प्रमाणहरु पनि फेला परेको छन् ।
ममता काफ्ले जुलाई ३० मा घरभित्रै मारिएको प्रहरीले दाबी गरे पनि अदालती कागजात अनुसार ममता काफ्लेका पति नरेश भाटले नै घरमा उनको हत्या गरेर शव पछि घरबाट हटाइएको प्रहरीले विश्वास छ ।
३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेश भाटले आफ्नी श्रीमती ममता भाटको हत्या गरेको र घटना उनकै निवासमा भएको प्रहरीले अदालतमा पेश गरेको कागजातमा उल्लेख छ ।

अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ ।
सुरुमा शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।
भाटलाई शव लुकाएको अभियोगमा पक्राउ गरेर शुक्रबार विहान अदालतमा पेश गरिएको हो । प्रिन्स विलियम काउन्टी जुभेनाइल एण्ड डोमेस्टिक रिलेशन कोर्टको रेकर्ड अनुसार विहान ८ बजेर ३१ मिनेटमा उनलाई अदालतमा पेश गरिएको हो । अर्काे सुनुवाई अक्टोबर २४ का लागि तय गरिएको छ ।

पहिलोपटक अदालतमा पेश गर्दा उनी भौतिक रुपमा नै अदालतमा उपस्थित रहेका थिए । उनले आफू अँग्रेजीमा धेरै धाराप्रवाह नभएको भन्दै नेपाली दोभाषेका लागि अनुरोध गरेका थिए ।
उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ । तर प्रहरीले अभियोगमा संसोधन वा थपहुनसक्ने समेत बताएको छ ।

ममताकी एकबर्षकी छोरी निमालाई डिपार्टमेन्ट अफ सोसल सर्भिसको हेरचाहमा राखिएको छ । छोरीलाई कम्बलले लपेटेर घरबाहिर निकालिएको थियो । बच्चा सुरक्षित भएको र डिपार्टमेन्ट अफ सोसल सर्भिस तथा प्रहरीद्वारा अनुमोदित उपयुक्त हेरचाहकर्ताद्वारा हेरचाह गरिएको प्रहरीको भनाई छ ।

घरमा रातभर खानतलासीपछि बिहीबार विहान नरेश भाटलाई ममता काफ्ले बेपत्तासँग सम्बन्धित भएको ठहर गर्दै पक्राउ गरेको हो ।
अधिकारीहरूले नरेश भाटलाई बिहान १०ः४५ बजेतिर हत्कडी लगाएर घरबाट बाहिर निकालेका थिए ।
अहिलेसम्म ममता काफ्लेको अवस्था अज्ञात छ । प्रहरीले ममतालाई जीवित भेट्न सकिने सम्भावना नरहेको जनाएको छ ।
मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेश भाटसँगकुरा गरेका थिए । तर श्रीमान नरेश भाटले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र भाटले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

Facebook Comments Box