दमक/ दमक ६ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभाको समापनका अवसरमा संस्थाले विभिन्न बिधामा उत्कृष्ट कर्मचारी र एक जना पत्रकारलाई स्वर्णलक्ष्मी साकोस उत्कृष्ट पत्रकारिता पुरस्कारद्धारा सम्मान गरेको छ ।
संस्थाले यसै साता शुरु गरेको इकाइगत साधारण सभाको माइन्यूट प्रमाणिकरणसहित साधारण सभाको समापनका अवसरमा बिहिबार आधा दर्जन कर्मचारी र पत्रकार बिष्णु पोखरेललाई सम्मान गरेको हो ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलको प्रमुख आतिथ्यमा आयोजित साधारण सभाको समापनमा बोल्दै अध्यक्ष पोखरेलले सहकारी ऐन २०७४ को संशोधन प्रकृया अघि बढिरहेकाले अब कानुनी रुपमा रहेका सहकारीका जटिलताहरु निराकरण भएर जाने दाबी गरे ।
उनले सहकारी अभियान मार्फतनै समाजवादको बाटोमा अघि बढ्न सकिने भएकाले समाजवादलाई आफ्नो लक्ष्य बनाएर अघि बढिरहेका राजनीतिक दलहरु सहकारी अभियानको हित विपरित अघि बढ्न नसक्नेमा आफूहरु विश्वस्त रहेको बताए । सहकारीको माध्यमबाट समाजको सशक्तिकरण, नेतृत्व बिकास तथा मुलुकको अर्थतन्त्रमा २० प्रतिशत योगदान पुगिरहेको तथ्यबारे समग्र मुलुक र मुलुकको नेतृत्वकर्ताहरु अनभिज्ञ नरहेकाले यो अभियान निरन्तर चल्नेमा कुनै शंका नरहेको स्पष्ट पारे ।

उनले तुलसी सहकारीका पीडितहरुले बचत फिर्ता पाउने सम्भावना रहेको बताउँदै सहकारी अभियानलाई बदनाम गराउने छुट कसैलाई नभएको र बचतकर्ताको पैसा फिर्ता नहुने भन्ने सवाल नरहेको तर्क पनि गरे । देशभरका करिब दुई दर्जन सहकारी बचत फिर्ता गर्न नसकेका कारण समस्यामा परेको उल्लेख गर्दै थप ९ वटा सहकारी त्यस किसिमको समस्याग्रस्त सहकारीका रुपमा घोषणा हुन लागेका र कानुनी व्यवस्था अनुसार सबै बचतकर्ताहरुले आफ्नो रकम फिर्ता पाउने महासंघ अध्यक्ष पोखरेलको जिकिर छ ।

सो अवसरमा कार्यक्रमकी विशिष्ट अतिथी दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले सहकारी अभियान आफैंमा समाजको एक अभिन्न अंग बनिसकेको अवस्थामा यसको संरक्षणका लागि सम्बन्धित संस्थाका सञ्चालक र शेयर सदस्यहरु स्वयं जिम्मेवार बन्नु पर्ने सुझाइन् । उनले सहकारीताका माध्यमबाट सामाजिक सशक्तिकरण बढेको र पछिल्लो समय यो क्षेत्र बद्नामको बाटोमा गइरहेकाले यसको निराकरणका लागि स्वयं सहकारी अभियान्ता सहकारीकर्मीहरु लाग्नुपर्ने उल्लेख गरिन् । स्थानीय सरकार सहकारी संस्थाहरु र सहकारी अभियानसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उपप्रमुख भट्टराईको भनाई थियो ।
सो अवसरमा कोशी प्रदेश बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष चन्द्रा खड्का, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा आयोजित सो साधारण सभाको समापनका अवसरमा संस्थाले बर्षेनी प्रदान गर्दै आएको स्वर्णलक्ष्मी साकोस उत्कृष्ट पत्रकारिता पुरस्कार गोरखापत्रका झापा संवाददाता बिष्णु पोखरेललाई प्रदान गरिएको छ ।

त्यस्तै संस्थाले प्रदान गर्दै आएको हिरो अफ द स्वर्णलक्ष्मी पुरस्कारबाट संस्थामा कार्यरत कर्मचारी कविता निरौलालाई पुरस्कृत गरिएको छ । त्यस्तै कुमार घिमिरे, रन्जिता बस्नेत तथा बजार शाखामा रहेर उत्कृष्ट कार्य गर्ने कर्मचारी कमल गर्ताैला, दीपक क्षेत्री, निर्मल धिमाल, अशोक कटुवाल, निखिल उप्रेती संगीता चौधरीलाई पनि फरक फरक बिधामा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा दमक अन्तर्गतका बचतकर्ता सदस्यहरु, संस्थाका कर्मचारी, पत्रकारहरु समेतको उल्लेखिय सहभागिता थियो । सो कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक कमलकुमार घिमिरेले गरेका थिए ।