दमक/ दमक ८ स्थित कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । १६ भाद्रदेखि शुरु भएको इकाइगत साधारण सभाको माइन्यूट प्रमाणिकरण र पुरस्कार वितरण गर्दै शनिबार समापन गरिएको हो ।
समापनका अवसरमा कञ्चन शिक्षा प्रोत्साहन पुरस्कारबाट दुई जना बिद्यार्थीलाई पुरस्कृत गरिनुका साथै इकाइगत रुपमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु छनोट गरि पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । संस्थाले १६ भाद्रमा शुरु गरेको इकाइगत साधारण सभा २१ गते सम्ममा सबै केन्द्रमा गरी २९ गते संस्थाको मुख्य कार्यालयमा शनिबार समापन गरेको व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैंकका केन्द्रिय लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा भएको सो समापन कार्यक्रममा सहकारी क्षेत्रका अभियान्ताहरुले सहकारी क्षेत्रलाई हेर्ने निजी क्षेत्र र सरकारी निकाय दुवैको दृष्टिकोण राम्रो नहुँदा सहकारीहरुले समस्या ब्यहोर्नु परिरहेको उल्लेख गरे । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केवी उप्रेतीको नाम नलिई कतिपय सहकारी अभियान्ताहरुले राज्यले सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताए ।
अधिवक्ता समेत रहेका मेची बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराइले अदालतमाथिनै प्रश्न पनि उठाए । थुन्ने र अनि मात्रै सुन्ने अदलातको अभ्यासले सहकारी अभियानलाई जोखिममा पारिरहेको उनको टिप्पणी थियो । अध्यक्ष उप्रेती सहकारी ठगी सम्बन्धि मुद्धा खेपिरहेका अभियान्ता हुन् ।
सो अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा, जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव कमलकुमार घिमिरे लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।