दमक/ सहकारी संस्थाहरु र स्थानीय सरकारको नेतृत्वीबचको सहकार्य र समन्वयबाट समाजमा योगदान गर्न सकिनेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
दमक– ६ स्थित मोडल बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)ले सहकारी संस्थाहरुका माध्यमबाट सदस्यहरुलाई लक्षित गरेर प्रोत्साहन र वित्तीय ज्ञान प्रदान गर्न सकिने बताइन् । उनले सहकारीकर्मीहरुको सामाजिक सशक्तिकरणका लागि , सहकारीकर्मीहरुमा प्रविधि र सीपको बिकासका लागि समेत स्थानीय सरकार सहकारी संस्थाहरुसँग आवश्यक सहकार्य गरेर अघि बढ्न तयार रहेको बताइन् ।
उपप्रमुख भट्टराईले सहकारी क्षेत्रका माध्यमबाट सामाजिक सचेतना र सहयोगका कार्यक्रमहरु साझेदारीमा अघि बढाउन सकिने पनि उल्लेख गरिन् ।
दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाले सहकारी संस्थाहरुसँग सहकार्य गर्न स्थानीय सरकार तयार रहेको बताउँदै बढ्दो शहरीकरणसँगै वातावरण तथा सरसफाईका क्षेत्रमा नयाँ ढंगबाट काम गर्नुपर्ने अवस्था आएको बताए ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले सहकारी संस्थाहरुको सञ्चालनमा संस्थाका सञ्चालकहरु र कारोबारमा शेयर सदस्यहरु दुवै पक्ष इमान्दार र अनुशासित हुनुपर्नेमा जोड दिए । उनले सहकारी संस्थाहरु र स्थानीय सरकारसँगै उद्योग वाणिज्य संघ पनि हातेमालो गरेर सामाजिक बिकासमा योगदान दिन तयार रहेको बताए ।
उदघाटन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेमकुमार कोइराला, लेखा संयोजक चुडामणी ओझा, मेनेजर्स क्लब झापाका अध्यक्ष खोम बगाले लगायतले सहकारी संस्थाहरुले सरकारलाई कर तिरेर दिइरहेको योगदानको मुल्याङकन राज्यका निकायहरुबाट हुन नसकिरहेको गुनासो गरे । उनीहरु सहकारी क्षेत्र जनताको सबैभन्दा नजिकको स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहिरहेको उल्लेख गरे ।
संस्थाका अध्यक्ष भोला बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले आर्थिक वर्ष ०८०/०८१ मा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु मध्येवाट २२ जनालाई पुरस्कृत गरेको छ ।
उत्कृष्ट कारोवार गर्ने मध्येवाट लिज्ला श्रेष्ठ,सुलभ बस्नेत,सन्जना राजवंशी,सन्देश राई,प्रभाकुमारी सुब्बा,विशाल धिमाल,घनश्याम शाह,केकेश दर्नाल,सक्षम चौधरी,सन्जिन सिग्देल , सन्जित आङदेम्वे र रिता जैसवाल लगायतलाई पुरस्कृत गरिएको मोडलका ब्यवस्थापक गीता ढकालले जानकारी दिईन् ।
यसैगरी ६५ बर्ष माथिका ज्येष्ठ शेयर सदस्यहरु कर्णकुमार नेपाल,दलबहादुर दर्जी,छायाँदेवी बराल,सावित्रा अधिकारी,राधादेवी श्रेष्ठ,सुकबहादुर लिम्वू,धनकुमारी लिम्वू,देवीप्रसाद अधिकारी र बुद्धिमान विष्ट लगायतका २७ जनालाई नगदसहित पुरस्कृत गरिएको थियो ।

सभामा लेखा समितिका संयोजक विशेश्वर प्रसाद मिश्रले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत दुवै प्रतिवेदन संस्थाको बन्दसत्रले संसोधनसहित पारित गरेको संस्थाका सचिव दिपक बरालले जानकारी दिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रकाश अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।
९०७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूंजी १ करोड १२ लाख २० हजार ५ सय , निक्षेप ४ करोड ५० लाख ४ हजार ६ सय ४७, ऋण लगानी ६ करोड २६ लाख ७१ हजार २ सय ४० रुपैया रहेको प्रतिवेदनमा उल्लेख छ ।