दमक/ झापा निर्वाचन क्षेत्र नं ४ अन्तर्गतको प्रदेश सभा क्षेत्र ( १ अर्थात क) बाट निर्वाचित नेकपा एमालेका प्रदेश सभा सदस्य एवं एमाले नेता राधाकृष्ण खनालका छोरा सुमन खनालले सहकारी सञ्चालनका क्रममा एक करोड ३८ लाख रुपैयाँ ठगी गरेको तथ्य बाहिर आएको छ ।
शिवसताक्षी नगरपालिका–३ मा उन्नति बचत तथा ऋण सहकारी संस्था खोलेर नेता पुत्र खनालले बचतकर्ता र सेयर सदस्यहरूको नाममा जम्मा भएको सो रकम अपचलन गरेको तथ्य बाहिर आएको हो ।
प्रदेश सभा सदस्य खनालले २०७९ को मसिंरमा भएको प्रदेश सभा सदस्यको निर्वाचनताका नै सर्वसाधारणको सो रकम डुब्न नदिने र चुनाव जितेपछि सबै रकम फिर्ता गरिदिने प्रतिबद्धता गरेकामा अझै रकम फिर्ता नपाएपछि सहकारीका पीडितहरुले अहिले रकम फिर्ताको माग गर्दै गरेको निवेदन स्थानीय सरकारदेखि जिल्ला प्रहरी कार्यालय सम्म परेको छ ।
पीडितहरूले शिवसताक्षी नपरपालिकाको सहकारी शाखामा उजुरी दिएका र सो बारे छानबिन गर्न नगरपालिकाले जिल्ला प्रहरी कार्यालय झापालाई सिफारिस गरेको शाखा अधिकृत बद्री दाहालले जानकारी दिए ।
‘यहाँ उजुरी आएको थियो । हामीले आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेका छौँ,’ दाहालले भने ।
जिल्ला प्रहरी कार्यालयलाई छानबिनको सिफारिस गरिएसँगै सुमन भने मोबाइल ‘स्वीच अफ’ गरेर सम्पर्क बाहिर बसेका बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले सो उजुरीको विषयमा छानबिन भइरहेको बताए ।
तीन/चार महिना पीडितहरुले खनाललाई इलाका प्रहरी कार्यालय झिलझिलेमा झिकाएर पैसा फिर्ता गर्न भनेका थिए । सो समयमा खनालले सो रकम आफूले चलाएको र फिर्ता गरिदिने प्रतिबद्धता जनाएका थिए ।
‘योजनामै रकम घोटाला गरेको देखिन्छ,’ एक पीडितले भने । अहिले जग्गा दिन्छु भनेको उनको भनाइ छ । ‘मंगलबारेभन्दा माथितिर रहेको २ कठ्ठा जग्गा र गाउँमा रहेको खेतीको १२ कट्ठा जग्गा बेचेर तिर्छु भनेका छन्,’ ती पीडितले भने, ‘जग्गा कसरी सकार्ने भन्ने छलफलमा छौँ ।’ खनाल सो सहकारीका संस्थापक अध्यक्ष पनि हुन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा खनालले विनाभौचर नै बचतकर्ताको रकम २ लाख ६ हजार ८६८ रुपैयाँ निकालेका र बचतकर्ताको ४२ लाख नगद हिनामिना गरेको, बचतकर्ता तथा कलेक्टरहरूबाट हिसाबभन्दा बढी सङ्कलन भएको रकम जम्मा हुने उन्नति फन्ड एकाउन्टबाट आर्थिक वर्ष २०७९–८० मा २ लाख ३६ हजार ८४० रुपैयाँ निकालेर अध्यक्ष आफैँले आफ्नो बचतखातामा जम्मा गरेको लगायतका विषय उल्लेख छ ।

आर्थिक वर्ष २०७८–७९ मा  कृत्रिम ऋणी देखाएर  रमेश अधिकारीको नाममा किर्ते ऋण १ लाख ९१ हजार ८४९ रुपैयाँ पैसा आफैं चलाएको  पनि पाइएको एक अध्ययनले देखाएको छ ।
यस्तै आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणमा ४१ लाख ६८ हजार ३७७ रुपैयाँ नगद मौज्दात भएको दाबी गरे पनि उक्त रकम समेत अध्यक्ष खनालले व्यक्तिगत रूपमा चलाएका बताइएको छ ।
आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षण प्रतिवेदनमै संस्थाले लगानी गरेको रकमभन्दा ५ लाख ४९ हजार ५१२ रुपैयाँ ज्यादा लगानी रहेको भनी वित्तीय विवरण सार्वजनिक भएको थियो । आर्थिक वर्ष २०७८–७९ मा उन्नती साकोसको नाममा ५ लाखको कर्जा संस्थाले सेयर सदस्यलाई लगानी गरेको नभइ अध्यक्ष सुमन खनालले नै चलाएका थिए ।
कर्जा लिनेमा रमेश अधिकारीको नाम मात्रै लेखिए पनि अधिकारीको पहिचान खुल्ने कागजात, प्रमाण केही नभएकाले सो कर्जा फेक भएको ठहर गरिएको हो ।
सञ्चालक समिति अध्यक्षले संस्था स्थापना भएदेखि नै संस्थाको नगद हिनामिना गरी व्यक्तिगत रूपमा चलाएको र उक्त रकममा संस्थाले ब्याज नपाएको हुँदा संस्थापक अध्यक्षबाट आर्थिक वर्ष २०७८–७९ सम्ममा ४४ लाख ३४ हजार १६७ ब्याज पाउनुपर्ने र आर्थिक वर्ष २०७९–८० मा १६ लाख ३१ हजार ३८७ रुपैयाँ ब्याज थप गरी ६० लाख ६६ हजार १९६ ब्याज हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।
संस्थाको अध्यक्षबाट आर्थिक वर्ष २०७८–७९ को अन्त्यमा १ करोड ४४ लाख ८० हजार ३९४ रुपैयाँ पाउनुपर्ने देखिन्छ । साथै आर्थिक वर्ष २०७९–८० को अन्त्यमा १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ पाउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
अध्यक्ष खनालले आफ्नोे सेयरमा १ लाख १० हजार र बचत खातामा २३ लाख २२ हजार ५९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५९९ रुपैयाँ राखेको देखिएको र उक्त रकम कट्टा गर्दा उनले सहकारीलाई अझै १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ तिर्नुपर्ने देखिएको अध्ययन प्रतिवेदनले ठहर गरेको छ ।

 

Facebook Comments Box