रमेश लुइँटेल झापाका परिचित युवा व्यवसायी तथा निजी क्षेत्रका एक लगानीकर्ताको पहिचान बनाएका युवा व्यक्तित्व हुन् । झापाको दमकलाई कर्मथलो बनाएर झण्डै डेढ दशक अघिदेखि निरन्तर व्यवसायमा संलग्न उनलाई शालिन, भद्र र लोकप्रिय व्यवसायी नेतृत्वकर्ताका रुपमा लिइन्छ ।
दमक जेसीजमा आवद्ध भएर नेतृत्व र व्यक्तित्व बिकास गरेका लुइँटेल विशेषत कम्प्युटर तथा इलोक्टेनिक्स व्यवसायका अनुभवी व्यवसायी हुन् । दुई बर्ष अघिदेखि नेपाल उद्योग व्यवसायी महासंघ नामक व्यवसायीहरुको संगठनमा दमक नगर नेतृत्व सम्हालिरहेका छन लुइँटेल । उनकै अगुवाईमा महासंघले यहि असोज ११ गते दमकमा चर्चित गायक शिशिर योगीको एकल साँझ कार्यक्रम प्रस्तुत हुँदैछ । प्रस्तुत छ व्यवसायी नेता लुइँटेलसँग सो सांगितिक कार्यक्रम, व्यवसायीहरुका समस्या र समसामयिक बिषयमा केन्द्रित रहेर गरिएको कुराकानीको निष्कर्ष :
उद्योग व्यवसायी महासंघको नेतृत्वमा आएपछि तपाइँहरु के काम गरिरहनु भएको छ ?
⇢ नेपाल उद्योग व्यवसायी महासंघको स्थापना केन्द्रमा लगभग १३ बर्ष अघि भएको हो । दमकमा पनि यो महासंघ लामो समयदेखि तदर्थ कमिटीका रुपमा रहेको थियो । विमल खतिवडाको संयोजकत्वमा हामीले यसलाई चलाइरहेका थियौं । २०७९ चैत १७ मा पहिलो नगर अधिवेशन सम्पन्न भयो र मलाई साथीहरुले नेतृत्व सुम्पिनु भएको हो । मैंले नेतृत्व सम्हालेदेखिनै सदस्यता विस्तारसँगै अन्य व्यवसायिक हक हितका मुद्धाहरुमा थप केन्द्रित गरिरहेका छौं ।
दमकमा तपाइँहरुले गायक शिशिर योगीको एकल साँझ कार्यक्रम किन आयोजना गर्नु परेको हो ?
⇢ तपाइँ हामी सबैलाई थाह छ कि अहिले व्यवसायीहरु विशेषत आर्थिक चलायमान नहुँदा निराशाजनक अवस्थामा हुनुहुन्छ, धेरै व्यवसायीहरु बैंक तथा वित्तीय संस्थाहरुको पीडामा हुनुहुन्छ । यस्तो अवस्थामा हाम्रो संगठनले निर्वाह गर्नुपर्ने भुमिका त केन्द्र लेभलदेखि पनि गरिराखेकै छ । हामीले स्थानीयस्तरमा पनि आवश्यकता अनुसार हाम्रो बल बुँता र क्षमताले भ्याए सम्म गरिराखेकै छौं । यो देखिने कुरा भयो तर हाम्रा साथीहरु यस किसिमको समस्या र पीडालाई कसरी भुलाउन होला भन्ने चिन्तामा पनि हुनुहुन्छ र विज्ञानले पनि प्रमाणित गरेको कुरा के हो भने सधैं तनावमा बस्नु भन्दा एकापसमा समस्याहरु शेयरिड गर्दा थोरै भए पनि हल हुन्छ र गीत, संगितको माध्यमबाट पनि मानसिक तनावलाई कम गर्न सकिने भएकाले त्यो अवसर हामी आफैंले किन सिर्जना नगर्ने ? भन्ने सोचेर हामीले यो कार्यक्रम राखेका हौं । अर्को कुरा दमकमा यस किसिमका परिवारसँगै बसेर सांगितिक आनन्द लिन पाउने मनोरञ्जनात्मक कार्यक्रम नभएको धेरै समय भएकाले पनि व्यवसायीहरुको सांगितिक मनोरञ्जनको आवश्यकतालाई पुरा गर्न एकल साँझ गर्न लागेका हौं ।
व्यवसायीहरुको समस्याको बिषयमा तपाइँहरुको नेतृत्वले कस्तो भुमिका निर्वाह गरिरहेको छ ?
⇢ व्यवसायीहरुका समस्याको कुरा गर्दा धेरै खाले समस्याहरु छन् । समस्याका प्रकृतिहेरी समाधानको उपायहरु खोज्ने गरेका छौं । घरभेटी र घरधनीबीच हुन सक्ने समस्या, बैंकहरुबाट चर्को ब्याज असुली र लिलामको प्रकृया, बैंकहरुले गर्ने ताकेता, ब्याजदर बढाउने समस्या , घर जग्गा लिलामको समस्या आदि धेरै खाले समस्या छन् । व्यापारिक कारोबारमा आएको गिरावट मुल समस्या छदैैंछ । हामी यि समस्याहरुमा प्राय सधैं जसो नेतृत्वपक्तिंले भोलेन्टीयर्सका रुपमानै खटेर समाधानमा केन्द्रित हुने गरेका छौं ।
दमक बजार भित्रका समस्याहरुलाई लिएर तपाइँहरुले स्थानीय सरकारसँग माग पत्र पनि बुझाउनु भएको थियो त्यसमा के भइराको छ ?
⇢ हो, हामीले स्थानीय सरकारसँग व्यवसायिक हकहित सम्बन्धिका मागहरु राखेर लिखित रुपमा ध्यानाकर्षण पत्र बुझाएका थियौं । हाम्रो मागहरुका बिषयलाई लिएर स्थानीय सरकारबाट सांराशमा प्रतिबद्धता पनि अएकै हो । हामीले केही आश्वासन पाएका पनि छौं । तथापी हामीले उठाएका केही मुख्य बिषयबस्तुहरुमा अझै पनि स्थानीय सरकारको ध्यान गएको छैन । हामीले दमकको नमुना बजारलाई साविककै अवस्थामा फर्काउन वा व्यवस्थित रुपमा रात्रीकालिन बजार सञ्चालन गर्नुपर्ने माग राखेका छौं । यो किन पनि आवश्यक छ भने दमकमा अलग किसिमको पहिचान भएको कुनै विशेष बजार छैन । समसाँझै व्यापार बन्द गरेर हिंडने अवस्था छ यसले यहाँको व्यवसायिक कारोबारलाई चलायमान बनाउन सक्दैन । साँझदेखि राती कम्तीमा १०, ११ बजे सम्म विशेष बजार अर्थात सेल्स चलाउन पाउनुपर्यो त्यसले व्यापार पनि बढाउनुका साथै ग्राहकहरुलाई पनि सहज र सुविधा हुन्छ । यदी नमुना बजारको एरियालाई व्यवस्थित गरेर त्यस्तो बजार चलाउन सकियो भने त्यो दमकको केन्द्रविन्दु पनि हो सबैलाई राम्रो हुन्थ्यो । त्यसो हुन नसके हामी बैकल्पिक ठाउँको बन्दोबस्ती गरेर पनि त्यस्तो विशेष छुटको अफरसहितको बजार चलाउने सोचमा छौं ।
यसबाहेक समग्रमा यहाँहरुले सरकार समक्षा उठाउँदै आएका मागहरु चाहिं के हुन ?
⇢ यो नै हाम्रो मुख्य माग हो । व्यवसायिक सुरक्षा, व्यवसायीहरुसँगको साझेदारीमा व्यापार व्यवसाय प्रवद्र्धनात्मक कार्यक्रम, व्यवसायीहरुले तिरेको करको सहि सदुपयोग, व्यवसायीहरुका समस्याहरुको व्यवहारिक रुपमा समाधान गर्ने, वित्तीय संस्था एवं बैंकहरुका कारण व्यवसायी पलायन हुने अवस्थाको अन्त्य , लगानी सुरक्षाको ग्यारेन्टी जस्ता यि र यस्तै मागहरु हामीले अघि सारेका छौ ।
अन्त्यमा सांगितिक कार्यक्रमका बारेमा थप केही भन्नु हुन्छ ?
⇢ हामीले यहि असोज ११ गते अर्थात शुक्रबार साँझ दमकमा नेपालकै चिरपरिचित राष्टिय गहना गायक शिशिर योगीलाई बोलाएका छौं । हामी व्यवसायीहरुबीचको एकता अझ बलियो बनाउँदै गीत संगीतका माध्यमबाट सबै व्यवसायीहरुसँग जोडन र जोडिन चाहेका छौं । हाम्रो यसमा कुनै व्यक्तिगत र राजनीतिक स्वार्थ छैन । यसलाई त्यस्तो आँखाबाट पक्कै पनि कसैले हेर्नुभएको छैन भन्नेमा हामी विश्वस्त छौं । तपाइँ सम्पूर्ण व्यवसायी, उपभोक्ता, गीत संगीतका पारखीहरु आउनुहोस शुक्रबारको साँझ दमक चोकको कस्मिक पाटी प्यालेसमा गायक शिशिर योगीका साथ सुमधुर गीत संगीतमा संगै रमाऔं । हामीबीचको एकतालाई अझ बलियो बनाऔं ।