लखनपुर/झापाको कमल ६ मंगलबारे बजारस्थित सुम्निमा कृषि सहकारी संस्थाको ७ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष प्रमोद दाहालको अध्यक्षता र कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यमा भएको साधारण सभामा ५ जना ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने कूल ३९ जनालाई पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको छ ।
सम्मानित हुने ज्येष्हरुमा स्थानीय समाजसेवी तथा बृद्धबृद्धाहरु पूर्णानन्द शर्मा, रमादेवी दाहाल नरप्रसाद खरेल, डिल्ली प्रसाद प्रसाइँ र नेत्र प्रसाद गुरागाइँ रहनु भएको छ ।
साधारण सभामा बार्षिक प्रतिवेदन पेश गर्दै सञ्चालक समितिका अध्यक्ष दाहालले शहरोन्मुख ग्रामिण क्षेत्रमा सञ्चालित सो सहकारी संस्थाले व्यवसायिक कृषि प्रणालीको विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाले कृषक सदस्यहरुलाई प्राथमिकतामा राखेर कारोबार गरिरहेको पनि उल्लेख गर्नुभयो ।
प्रतिवेदनमा संस्थाले अघिल्लो बर्षको तुलनामा कारोबार बृद्धि गरेको उल्लेख छ । संस्थामा अघिल्लो बर्ष ७३ लाख ४४ हजार रुपैयाँ शेयर पुँजी रहेकोमा आव २०७५÷०७६ ८९ लाख ९३ हजार रुपैयाँ पुगेको र निक्षेपमा २१ प्रतिशत बृद्धि भएको, ऋण लगानीमा ४१।४९ प्रतिशत बृद्धि भएको पनि प्रतिवेदनमा जनाइएको छ ।
सभामा अध्यक्ष दाहालले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सदस्य तथा समुदाय केन्द्रित कार्यक्रमहरु सञ्चालन गरेको चालू बर्षमा नेपाल रेडक्रस सोसाईटी उपशाखा लखनपुरले स्थापना गरेको राहत कोषमा २० हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको पनि जानकारी दिनु भयो । सभामा लेखा समितिको तर्फबाट तिर्थराज गौतमले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
साधारण सभाको उद्घाटन सत्रमा कमल ५ का वडाध्यक्ष डम्बर निरौला, जिल्ला सहकारी संघका पूर्व उपाध्यक्ष बलराम गजुरेल, लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अध्यक्ष एवम् चन्द्रदर्शन साकोसकी उपाध्यक्ष उषा भण्डारी, रेडक्रस सोसाइटी लखनपुर सभापति चन्द्र साह, लायन्स क्लब अफ लखनपुरका अध्यक्ष ज्ञाननाथ पौडेल, हाम्रो सुरक्षा साकोसका अध्यक्ष गोविन्द तिवारी लगायतको आतिथ्य रहेको थियो ।