दमक/  झापाको दमकमा दिपावली (तिहार)को अवसरमा संगीतमय शुभकामना कार्यक्रम सोमबार  सम्पन्न भएको छ ।
गीत संगीतका माध्यमबाट सांगितिक आनन्द लिँदै संगीतमय शुभकामना कार्यक्रमको अवसर संगीत शिक्षा प्रदान गर्दै आएको बिहानी कला केन्द्रले जुराएको हो ।
५० औंको हाराहारीमा एकसाथ गीत संगितका प्रशिक्षार्थी बिद्यार्थीहरुले सामुहिक स्वरमा नेपाली हामी रहौंला कहाँ …..बोलको राष्टिय भावनाले ओतप्रोत गीत गाएर कार्यक्रमको शुरुवात गरिएको थियो । उनीहरुले देशभक्ति भावनासँगै दियो बाली साँझको …...बोलको अर्को लोकप्रिय गीत गाएर कार्यक्रमका सहभागीहरुलाई मन्त्रमुग्ध बनाए ।
झण्डै एक सय जना गीत, संगीत प्रेमीहरुलाई दमक ८ स्थित होटल कोरोनेशनको सभाहलमा हार्मोनिय, तबला, मादल, गितार जस्ता बाद्यवादकहरु स–साना बालबालिकाहरुले बजाएर त्यहाँको वातावरणलाई मनमोहक बनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथी दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बालबालिकाहरुले निक्कै कलात्मक ढंगबाट राष्ट्रिय एकताको भावनाले भरिएको गीत प्रस्तुत गरेर आफूलाई भावविह्वल बनाएको शुभकामनाका क्रममा उल्लेख गरे । कार्यक्रमका विशिष्ट अतिथी दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल (दिपेश)ले केही अप्ठारा , समस्या र मानसिक तनावको समयमा बालबालिकाहरुले गीत संगीतका माध्यमबाट आनन्द दिलाएको बताए ।
नगर प्रमुख थापाले बालबालिकाहरुको गीत संगीत क्षेत्रको प्रतिभाको बिकाससँगै कला संस्कृतिको संरक्षण गर्न स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
बिहानि कला केन्द्रमा हाल ४० जना भन्दा बढी संगीत प्रशिक्षार्थी बिद्यार्थीहरु नियमितरुपमा संगीत बिषयको अध्ययन गर्दै आएका केन्द्रकी सञ्चालिका एवम् कार्यक्रमकी अध्यक्ष समेत रहेकी संगीत प्रशिक्षक कमला खनालले जानकारी दिइन् ।
सो अवसरमा संगीत कक्षामा बिहानी कला केन्द्रका विभिन्न तह पास गर्ने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । सो अवसरमा प्रतिभावान कलाकारहरुले लोकप्रिय मिठा र आकर्षक गायन र नृत्य पनि प्रस्तुत गरेका थिए ।

Facebook Comments Box