दमक/ ईलामको चुलाचुलीमा चुलाचुली आधारभूत अस्पतालको सेवालाई दिगो बनाउन आवश्यक अक्षयकोष जुटाउने उद्धेश्यले बहुधार्मिक प्रवचनसहित समावेशी श्रीमद भागवत महापुराण तथा ज्ञान यज्ञ हुने भएको छ ।
चुलाचुली गाउँपालिकाले नागरिकहरुको स्वास्थ्य उपचार सेवालाई गाउँमै सम्भव गराउने भन्दै चुलाचुलीबासीहरुकै अपनत्व हुने गरि यहि कार्तिक २६ देखि मसिंर ३ गते सम्म यो महायज्ञ आयोजना गर्न लागेको हो ।
ज्ञान यज्ञको बारेमा विस्तृत जानकारी गराउने उद्धेश्यले आज बुधबार पालिकामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले २०७७/०७८ देखि निर्माण शुरु भई गत आर्थिक बर्षमानै अस्पतालको भौतिक पूर्वाधार निर्माणले पूर्णता पाएको भए पनि अस्पताल सञ्चालनका लागि दिगो स्रोतको सुनिश्चितताका लागि अक्षयकोष बनाउने उद्धेश्य समेत राखेर बहुधार्मिक प्रवचनसहितको श्रीमद भागवत ज्ञान यज्ञ आयोजना गरिएको जानकारी दिनु भयो ।
चुलाचुली गाउँपालिका वडा नं २ बाह्रगोठेमा निर्माण गरिएको अस्पतालको सेवा शुभारम्भ समेत गर्ने योजनासहित ज्ञान यज्ञ आयोजना गरिएको बताइएको छ । अस्पताल सेवाको संघीय सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्य र प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङको विशेष आतिथ्यमा शुभारम्भ गरिने अध्यक्ष केरुङले बताउनु भयो ।
ज्ञानयज्ञमा श्रीमद भागवत कथा, पाठपारायणसँगै नियमित रुपमा भजन किर्तन, चर्चित धार्मिक प्रवचक राधिका दासी र ओमनन्द तथा लामा गुरुहरु लगायतबाट आलोपालो फरक फरक दिन पारेर धार्मिक प्रवचन सुनाउने व्यवस्था मिलाइएको मूल पुराण आयोजक समितिका सचिव विवश बलिभद्र कोइरालाले जानकारी दिनु भयो । विभिन्न जातजाती, भाषाभाषी र धर्मानुरागीहरुको सम्मिश्रण रहेको चुलाचुली गाउँपालिकालाई आपसी सदभाव र एकताको सन्देश दिनका लागि पनि यो महायज्ञले थप योगदान दिने विश्वास लिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले चुलाचुली आधारभुत अस्पतालको सेवालाई २४ सै घण्टा सञ्चालन गरि नागरिकहरुमा प्रसुति सेवासहित अन्य विशेषज्ञ डाक्टरहरुको सेवा प्रदान गर्ने हेतुले अस्पताल सञ्चालनार्थ छुट्टै अक्षयकोष निर्माण गर्ने लक्ष्य राखेको केरुङले बताउनु भयो ।
पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बु, प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बुसहित वडाध्यक्षहरु बबिनकुमार राई, लक्ष्मण श्रेष्ठ लगायत कार्यपालिका सदस्यहरु पुराण आयोजक समितिका जनक कोइराला, धर्म ढुंगाना लगायत विभिन्न समिति, उपसमितिका प्रतिनिधिहरु सहभागी थिए ।