दमक/ दमक १ मा मुख्य कार्यालय सञ्चालन गरि पूर्वी क्षेत्रमा वित्तीय कारोबार गर्दै आएको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको आसन्न १३ औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।
मुख्य कार्यालयमा रहेको आफ्नै सभा हलमा बुधबार औपचारिक कार्यक्रमबीच संस्थाको वित्तीय कारोबार सम्बन्धि सञ्चालक समिति र लेखा समितिको प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प)को अध्यक्षतामा प्रतिवेदन सार्वजनिकपछि संस्थाका अध्यक्ष लिङदेनले संस्थाले बिषम आर्थिक परिस्थिती र सहकारी क्षेत्रमा आएका जटिलताहरुलाई पार गर्दै संस्थाका शेयर सदस्यहरुको वित्तीय सुरक्षासहित सेवा प्रदान गर्न संस्था सफल भएको उल्लेख गरे ।
प्रमुख कार्यकारी अधिकृत दिलिप जवेगुले संस्थाले शेयर सदस्यहरुको अधिकतम हितका कार्यक्रमहरु ल्याइएको बताउँदै संस्थाले १६ बर्षे बाल बचत कार्यक्रमसहित आवधिक बचतका कार्यक्रमहरुलाई प्राथमिकतापूर्वक अघि बढाउने नीति लिएको उल्लेख गरे । उनले संस्थाका सेयर सदस्यहरुको ब्लड ग्रुपका आधारमा ग्रुप पहिचान गरि शेयर सदस्यहरुको छुट्टै ब्लड बैंक स्थापना गर्ने नयाँ कार्यक्रम ल्याइएको पनि जानकारी दिए ।
सासानो पुँजी संकलन र ससाना कर्जा लगानीलाई प्राथमिकता दिएको संस्थाले सबै कर्जा धितो मुल्याङकनका आधारमा उपलब्ध गराउने र ५ लाख भन्दा माथिको कर्जा लगानीमा धितोको अनिवार्य प्राविधिक मुल्याङकन गरिने , कर्जा बीमा अनिवार्य गरिने जस्ता नीति लिइएको पनि प्रमुख कार्यकारी अधिकृत जवेगुले उल्लेख गरे ।
संस्थाद्धारा सार्वजनिक प्रतिवेदनमा जनाइए अनुसार सो संस्थामा हाल २ हजार ३ सय ७५ जना शेयर सदस्य रहेकोमा महिलाको संख्या १ हजार २ सय ३५ रहेको र कूल शेयर पुँजी ३ करोड ८६ लाख ७६ हजार ७०० रुपैयाँ रहेको छ ।
संस्थाको कोष हिसाब २ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको छ भने यसले झापा जिल्लाका अतिरिक्त इलामको चुलाचुली गाउँपालिका र मोरङको उर्लाबारी नगरपालिकामा समेत कारोबार गर्दै आएको छ ।
२३ करोडको वासलात प्रस्तुत गरिएको प्रतिवेदनमा १९ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी रहेको तथ्याङक प्रस्तुत गरिएको छ । संस्थाको १३ औं बार्षिक साधारण सभा अन्तर्गत सबै सेवा केन्द्रहरुमा साधारण सभा सम्पन्न गरि आगामी ५ मसिंरमा दमकस्थित पशुपति मन्दिरको सभाकक्षमा निर्णय एकीकरण तथा माइन्यूट प्रमाणिकरण गरि साधारण सभाको समापन गरिने संस्थाका व्यवस्थापक कुबेर तुम्बापोले जानकारी दिए ।
सदस्यको सुविधामा केन्द्रित फाल्गुनन्द
राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दले समाज सुधारका पक्षमा उल्लेखनीय काम गरेको स्मरण गर्दै सो सहकारीले महागुरु फाल्गुनन्दको नाममा स्थापित यो संस्थाले सदस्यहरुको सेवा केन्द्रित योजना तथा कार्यक्रमहरुलाई अघि सारेको पाइन्छ । यो संस्थाले शेयर सदस्यहरुको मृत्यु भएमा सदस्य राहत कोषबाट नगद १५ हजार रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने गरेको छ भने अग्नी प्रकोपमा परेका सदस्यहरुलाई ५ लाख रुपैयाँ, दिर्घरोग लागेमा शेयर सदस्यहरुलाई १० हजार देखि २५ हजार सम्म औषधि उपचार खर्च दिने गरेको छ । त्यस्तै स्वरोजगार कार्यक्रम मार्फत न्यून आय भएका सदस्यहरुलाई न्यून ब्याजदरमा ४२ महिने कर्जा लगानी गर्ने नीति संस्थाले लिएको छ ।
