दमक/लौह पुरुष एवम् सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा झापाको शिवसताक्षीमा स्थापित गणेशमान सिंह अध्ययन प्रतिष्ठान तथा व्यवसायिक शिक्षालय सञ्चालनमा सरोकारवालाहरुले जोड दिएका छन् ।
आज आयोजित प्रतिष्ठानको चौथो अधिवेशन तथा साधारण सभाको उद्घाटन कार्यक्रमका वक्ताहरुले प्राविधिक शिक्षामा जोड दिएको सरकारले सो क्षेत्रमा तत्काल प्राविधिक शिक्षालय निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिएका हुन् । वक्ताहरुले राजनीतिक आस्था र विचारका आधारमा जनताले पाउनु पर्ने विकास योजनाहरु प्रभावित हुन नहुने पनि बताए । संस्थाका अध्यक्ष सन्तोष मेन्याङवोको सभापतित्व र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख शेर्माले स्थानीय सरकारले शिवसताक्षीको झिलझिलेस्थित सो संस्थाका नाममा रहेको करीब १० विगाहा जग्गालाई उदेश्य अनुरुप उपयोग गर्ने नीति लिएको बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथी नेपाली कांग्रेसका जिल्ला उपसभापति राम कट्टेलले स्वर्गीय गणेमान सिंहको विचार र सपनालाई साकार रुप दिन सो स्थानमा शिक्षालय सञ्चालन अनिवार्य भएको बताउनु भयो ।
कार्यक्रममा संघ संस्थाहरुका तर्फबाट स्थानीय पशुपति बोर्डिङ स्कूलका प्रिन्सिपल चन्द्रप्रसाद खनाल, राजनीतिक दलहरुका तर्फबाट नेकपाका नगर अध्यक्ष महेन्द्र भट्टराई, नेपाली कांग्रेसका नगर सभापति पर्शुराम ढुंगाना लगायतले पनि शुभकामना मन्तव्य राख्दै युवा विद्यार्थीहरुलाई प्राविधिक शिक्षा प्रदान गरेर देश र जनतालाई समृद्ध बनाउन झिलझिलेमा प्राविधिक शिक्षालय यथाशीघ्र सञ्चालनमा आउनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष मेन्याङबोले प्रगति प्रतिवेदन, कोषाध्यक्ष याम बहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष विष्णु बहादुर सुब्बाले स्वागत मन्तव्य राख्नु भएको थियो ।