विराटनगर/पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सम्झनामा विराटनगरमा संग्राहालय निर्माण गर्न शुरु गरिएको छ ।
जीपी कोइराला फाउन्डेसन प्रदेश १ ले विराटनगर–७ स्थित कोइराला निवास परिसरमा कोइरालाको नाममा बनाउने सङ्ग्राहालयको जीपी फाउन्डेसन अध्यक्ष तथा नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आज शिलान्यास गरिन् । उनले स्वर्गीय कोइरालाको जीवनीमा आधारित उपलब्ध भएसम्मका सबै वस्तु सङ्ग्रहालयमा राखिने पनि जनाइन् ।
फाउन्डेसनकी अध्यक्ष सुजाताले स्वर्गीय कोइराला नयाँ नेपालको पिता भएको दाबी गर्दै उनकै सम्झनामा सङ्ग्र्राहालय निर्माण हुन लागेको बताइन् । प्रदेश सरकारको ४० लाख, सामाजिक विकास मन्त्रालयको २० लाख र विराटनगर महानगरको १५ लाख रुपैयाँको प्रारम्भिक सहयोगमा भवन निर्माण शुरू गरिएको जनाइएको छ ।
कुल ४ करोड रुपैयाँको लागत अनुमान गरिएको संग्राहालयमा ४ तला रहनेछ । स्वर्गीय कोइरालाले सुत्ने ओछ्यानदेखि निजी जीवनमा प्रयोग गर्ने सबै सामग्री सङ्ग्रहालयमा प्रदर्शनीमा राखिने भएको छ ।
त्यस्तै विदेशी राष्ट्राध्यक्षसँग खिचेका फोटा, लत्ताकपडाका साथै गिरिजाप्रसादका बाबु कृष्णप्रसाद कोइरालाका ५ छोरा मातृका, बीपी, केशव, गिरिजा र तारणिप्रसादका सबै सामग्री प्रदर्शनीमा राखिने छ । फाउन्डेसनको प्रदेश १ की अध्यक्ष इन्दिरा थापाले आगामी २ वर्षभित्रै सङ्ग्राहालय निर्माण गरिसक्ने बताइन ।