दमक/झापाको शिवसताक्षी ११ स्थित सताक्षीधाम परिसरमा सरकारी निकायहरु समेतको सक्रिय सहभागितामा आयोजना गर्न लागिएको १०८ कुण्ड कोटी हवनको तयारी अन्तिम चरणमा पुगेको छ । धाम परिसरमा आयोजना गरिने कोटि हवनका लागि कुण्ड निर्माणस्थल, , भक्तजनहरु तथा पाहुनहरुका लागि आवास ( कुटी) निर्माण, खानेपानी, विद्युत लगायतको भौतिक पूर्वाधारहरुको निर्माण तयारी अन्तिमम चरणमा पुगेको हो ।

२७ कार्तिकदेखि ९ मसिंर सम्म सञ्चालन हुने सो कोटीहोममा नेपालका अतिरिक्त भारत, भारत, सिङ्गापुर, अमेरिका, जर्मन, मालदिम्स, अफ्रिका लगायतका देशबाट समेत हिन्दु धर्मावलम्बीहरु ठुलो संख्यामा सहभागी हुने भएका कारण जंगलबीचमा पर्ने सतासीधाम क्षेत्रमा धमाधम अस्थाई तथा स्थाई प्रकृतिका संरचनाहरु निर्माण भईरहेको हो ।
जिल्ला समन्वय समिति झापा, शिवसताक्षी नगरपालिकासहित जिल्लास्थित स्थानीय सरकारहरु समेत आयोजकको रुपमा रहेको सो कोटीहोममा श्रीमद भागवत कथा महोत्सव सञ्चालन हुने पिठाधीस आचार्य नन्दकिशोर भारद्वजले जानकारी दिनु भयो । कोटीहोम मूल आयोजक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति झापाका संयोजक सामेनाथ पोर्तेलले ‘पर्यटन भ्रमण वर्ष, २०२०’लाई सफल बनाउन महाभारतकालिन इतिहाससँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल सतासीधामले सहयोग पुरयाउने अपेक्षा गरिएको बताउनु भयो ।

सो कोटहोमका प्रचार प्रसारका लागि पोष्टर, पम्प्लेटिङ्ग, माईकिङ्ग, ठाँउ–ठाँउमा काटिहोम, गौरक्षा लगायतका विषयमा जानकारीमुलक कार्यक्रमहरु सञ्चालन गरिएको बताइएको छ ।आयोजकले नेपाल बाहेक विश्वका २० हजार र नेपालका डेढलाख आन्तरिक पर्यटक कोटीहोममा सहभागी हुने अपेक्षा गरेको जनाएको छ ।
सताक्षीधाममा ५ वर्ष अघि पनि गोलोक गोवद्र्धन गौशालाले गाईको महत्व, आवश्यक्ता र शास्त्रीय गुणको बारेमा जनचेतना जगाउन महायज्ञको आयोजना गरेको थियो ।
त्यहाँ गौशाला स्थापनासंगै वर्षेनी धार्मिक महोत्सवका रुपमा कार्यक्रम आयोजना गर्ने गरिएको छ । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले यस पटक स्थानीय सरकार समेत आयोजकको हैसियतमा रहेर सो कोटीहोम आयोजना गरेको बताउँदै नगरपालिकाका तर्फबाट नगद १० लाख रुपैयाँ खर्चिइने बताउनु भयो । उहाँले अन्य स्थानीय तहहरुले पनि आआफ्नो निर्णय अनुसार सो कोटीहोममा आर्थिक सहभागिता जनाउने उल्लेख गर्नु भयो ।
करीब ३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको सो धार्मिक अनुष्ठानको उद्घाटन प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले गर्नुहुने आयोजकले आज धाम परिसरमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।