सहकारी ठगीबारे अनुसन्धानका लागि बयान लिन कास्कीबाट मंगलबार दिउँसो भैरहवा ल्याइएका पूर्वगृहमन्त्री रवि लामिछानेले रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लामिछानेको बयान लिइएको हो । साँझ ६ बजे बयानको क्रम सकिएको छ । बुधबार (भोलि) पनि उनको बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठोरले जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसँगको बयानमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डित, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित केही अनुसन्धान अधिकृत सामेल थिए । उनीहरूले सुप्रिम सहकारीको रकम हिनामिनाबारे लामिछानेसँग सोधपुछ गरेका थिए ।
मंगलबार सामान्य सोधपुछ भए पनि लिखित सोधपुछ बुधबार हुने जिल्ला न्यायाधिवक्ता पौडेलले जानकारी दिए । ‘आज सामान्य सोधपुछ भयो,’ उनले भने, ‘भोलिदेखि लिखित प्रश्न सोध्छौँ ।’
रवि लामिछानेलाई आज जिल्ला प्रहरी कार्यालय भैरहवामै राखिएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । बयानमा भने उनले सहकारीबाट रकम नलगेको जिकिर गरेका छन् ।
सहकारीबाट आफ्नो नाममा गएको रकम कसले र कसरी लग्यो भन्नेबारे आफूलाई जानकारी नरहेको लामिछानेले बयानका क्रममा बताएका छन् ।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार बयानमा रवि लामिछानेले आफूले सहकारीबाट रकम नलगेको र कसैलाई त्यस्तो आग्रह वा निर्देशनसमेत नदिएको जिकिर गरेका छन् ।
गोरखा मिडियाको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सहकारीबाट उक्त मिडियामा गएको रकमका विषयमा उनीसँग सामान्य सोधपुछ भएको बताइएको छ ।
सहकारी रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा सुप्रिम सहकारीको खाताबाट गोरखा मिडिया नेटवर्कको खातामा सिधै रकम ‘ट्रान्सफर’ भएको उल्लेख छ । उक्त रकम कर्मचारी रोशनी गुरुङले जम्मा गरिदिएको उल्लेख छ । यससँगै रविको नाममा थप ९६ लाख रुपैयाँ प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।