दमक/ शिवसताक्षी नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ खुदुनाबारीस्थित कैदले प्राकृतिक रंंगशालामा जारी प्रतियोगिता अन्तर्गत आज आइतबार भएको पहिलो सेमिफाइनलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी फाइनलमा प्रवेश गरेको हो ।
शिवसताक्षीको जितमा मिलन राई नायक बने । उनले टिमकालागि २ गोल गरे ।
राईले खेलको २६ औं मिनेटमा डि–एरियामा बिर्तामोडका गोलरक्षक अविशेक चौधरीले फल्ड गरेपछि पाएको पेनाल्टी प्रहारलाई गोल पोष्ट भित्रबाट जाली चुमाउदै टिमलाई पहिलो अग्रता दिलाए । उनले खेलको ६१ औं मिनेटमा दोस्रो गोल गरेका थिए । २–० गोल अन्तरलेपछि परेको बिर्तामोडका लागि ६३ औं मिनेटमा श्याम मुर्मुले एक गोल गर्दै २–१ गोलको अन्तर बनाए ।
शिवसताक्षीलाई फाइनलमा पुर्याउन २ गोल गरेका मिलन राई खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए । उनलाई अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षीका नगरप्रमुख मेगाहाङ थोप्रा (रोशन), प्रतियोगिताका संयोजक सिताराम भट्टराई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा) लगायतले पुरस्कार प्रदान गरे । मसिंर ५ मा फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।