काठमाडौं/प्रहरीले काठमाडौंबाट तास चिन्ने ‘सेन्सर’जडित जुवा सामग्री बरामद गरेको छ ।
यसलाई सेन्सरले सजिलै चिन्नसक्ने र यस्ता सामग्रीसहित जुवा खेल्दा जुवाडेले जितेको जित्यै गर्नसक्छ । यो तास सर्लाही, बरहथवा निवासी निरबहादुर कार्कीले चीनबाट भित्र्याएको हो । काठमाडौंको स्यूचाटारबाट तास बरामद गरिएको हो । यो अन्य सामान्यजस्तो तास होइन । ‘मेसिन रिडेबल’ हो ।
निरबहादुरलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ । उनको साथबाट ताससँगै ३२ ओटा उपकरण पनि प्रहरीले बरामद गरेको छ । जसको मूल्य झन्डै ५० लाख रुपैयाँ बराबरको छ । अत्याधुनिक प्रविधियुक्त यो तास खेल्ने बेलामा जुवाडेले आ–आफ्नो मोबाइलमा ‘डिभाइस’ जडान गरी तास खेल्न सक्छन् । खेलाडीको संख्या ‘रिमोट’मा ‘फिक्स’ गरेपछि तास बाँडिन्छ । बाँडिएको तासमा कुन खेलाडीले जित्छ भन्ने कुरा कानमा, आँखाको लेन्समा, कपडा, चस्मा, घडी, पर्समा जडान गरिएको डिभाइसले पत्ता लगाउने गरेको कालिमाटी वृत्तका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । त्यतिमात्र होइन, पैसाको बीचमासमेत डिभाइसलाई घुसाउन सकिन्छ । पक्राउ परेका व्यक्तिले नेपाली बजारमा बेच्नकै लागि मेसिन रिडेबल ताससहित त्यसमा जडान गरिने उपकरण ल्याएका हुन् ।
मेसिन रिडेबल तास बजारमा भित्रिएको जानकारी प्राप्त भएपछि नेपालमा सन्चालनमा रहेका क्यासिनोका प्रतिनिधिले ‘क्यासिनोमा खेलाइने गरेको तास पनि मेसिन रिडेबल त होइन ?’ भनी डराएर प्रमाणीकरणका लागि लिएर प्रहरीसमक्ष आएका थिए । कार्कीले ल्याएको तासमा ‘युभी लाइट’ ल्याइ परीक्षण गर्दा भने केहीपनि देखिँदैन । ( यो समाचार इमेजखबरबाट साभार गरिएको हो । )